लोप हुँदै पानी घट्ट, आश्रित परिवार प्रभावित

दाङ । शान्तिनगर गाउँपालिका–२ अमुवाका लीलाधर कँडेलले पानी घट्ट सञ्चालन गरेको ४३ वर्षभन्दा बढी भयो । त्यस ठाउँमा चारवटा घट्ट थिए । जसमध्ये कँडेलका दुईवटा थिए । तर, अहिले उनको एउटा मात्र सञ्चालनमा छ । अन्य घट्टहरू बन्द भए । पछिल्लो समय गाउँमा मिल सञ्चालनमा आएपछि मानिस घट्टमा आउन छाडेको देवेन्द्रले बताए ।

‘कुनै समय दुईवटा घट्ट सञ्चालन गर्दा पनि पिसानी गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले खासै मानिस आउँदैनन्,’ उनले भने, ‘उहिले घट्टबाट वार्षिक २०/२५ क्विन्टल मैक, १०/१५ क्विन्टल गहुँ आम्दानी हुन्थ्यो । तर, अहिले थोरै मात्रामा आम्दानी हुन्छ ।’ पहिले साविकको बाघमारे गाविस वडा नम्बर २ र ३ को छोटे गाउँबाट पिसानीको लागि आउने गरे पनि अहिले गाउँमा मिल सञ्चालन भएपछि आउन छाडेका कँडेलले बताए ।

अमुवा मात्र दुईवटा मिल सञ्चालन छन् । स्थानीय सरकारले पनि अनुदानमा घर घरमा कुटानी पिसानीका लागि साना मिल दिँदै आएको छ । जसले गर्दा अहिले थोरै मात्रा घट्टमा आउने गरेका छन् । लीलाधरका अनुसार करिब पाँच पाथी मकै पिसाउन घट्टअनुसार आधादेखि एकण् घण्टासम्म लाग्छ । पछिल्लो घट्टमा नयाँ प्रविधि आए पनि पानीको समस्या हुने गरेको उनको भनाइ छ ।

‘अहिले पानीको समस्या हुन्छ । वर्षायाममा दुईवटा घट्ट चल्ने पानी हुन्छ । अहिले मुस्किलले एउटा चल्ने पानी हुन्छ,’ उनले भने, ‘फेरि पहिलेको जस्तो गल्ला पनि आउँदैन । जसले गर्दा पनि नयाँ प्रविधिबाट सञ्चालन गरेका छैनौँ ।’ तुलसीपुर उपमहानगरपालिका–४ रानागाउँका वीरबहादुर डाँगीले २०६४ सालदेखि पानी घट्ट सञ्चालन गर्दै आएका छन् । उनका अनुसार शुरुमा घट्ट सञ्चालन गर्दा घट्टमा पाइला टेक्न ठाउँ नभए पनि अहिले थोरैमात्र आउँछन् ।

‘सल्यानदेखि २०६२ सालमा बसाइँ सरी रानागाउँमा आएका थियौँ,’ उनले भने, ‘त्यसपछि २०६४ सालदेखि घट्ट सञ्चालन गर्दा गल्लाले खुट्टा टेक्ने ठाउँ हुँदैन्थ्यो । रातदिन घट्टमा ड्युटी दिनुपर्दथ्यो । तर, अहिले गाउँ गाउँमा मिलहरू आएपछि घट्टमा मानिस पिसाउन आउन छाडे । अब घट्ट बन्द हुने अवस्थामा पुगेको छ ।’

उनका अनुसार पहिला घट्टमा रानागाउँ, डाँडाखुट्टी लगायतका ठाउँबाट मानिस पिसाउनका लागि आउने गरे अहिले गाउँमा मिल सञ्चालन भएपछि आउन छाडेका छन् । रानागाउँकी वर्षामाली वलीले घट्टमा पिसानी गर्दा समय धेरै लाग्ने भएकाले अहिले मिलमा नै कुटानी र पिसानी हुने गरेको बताइन् । आफूहरूले लामो समयदेखि घट्ट चलाउँदै आएको भए पनि अहिले मानिसहरू घट्टमा आउन छाडेपछि बन्द गरेको वलीको भनाइ छ ।

पछिल्लो समय गाउँगाउँमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि पानी घट्ट प्रयोगमा कमी आएको स्थानीय बालकृष्ण रोकाले बताए । ‘अहिले गाउँ गाउँमा मिलहरू सञ्चालनमा आएका छन् । जसले गर्दा घट्टमा एक दिन लाग्ने मिलमा आधा घण्टा पनि लाग्दैन,’ उनले भने, ‘त्यसैले अब सबैलाई छिट्टोछरितो चाहेको हुँदा घट्टमा त्यति जान चाहँदैनन् ।’ रोकाले परम्परागत रुपमा नै घट्ट सञ्चालन गर्दा चल्न नसक्ने बताए ।

प्रविधिमा विकास गरे घट्ट लोप नहुने उनको भनाइ छ । स्थानीय मोहनलाल आलेका अनुसार पहिले त्यस क्षेत्रमा करिब पाँच वटा घट्ट थिए । अहिले दुई वटा मात्र छन् । ती पनि बन्द हुने अवस्थामा रहेका छन् । गाउँघरमा कुटानी र पिसानीको भरपर्दो माध्यमका रुपमा रहेका पानी घट्ट करिब लोप हुने अवस्थामा पुगेको उनको भनाइ । घट्ट लोप हुँदा त्यसमा आश्रित व्यक्ति र परिवारसमेत प्रभावित हुँदै गएको समेत उनले बताए ।

पहाडी जिल्लामा मात्र नभई दाङका विभिन्न ठाउँमा रहेका अधिकांश पानी घट्टहरू बन्द भइसकेका छन् । घट्टमा पिसेको खाद्यान्न पोषिलो र स्वादिष्ट हुने उनको भनाइ । ‘घट्टमा जाँतोले मात्र पिस्दा त्यो पिठो पोषिलो र स्वादिष्ट हुन्छ,’ उनले भने, ‘मिलमा विद्युतबाट पिसाउँदा त्यति पोषिलो र स्वादिष्ट हुँदैन । तर, अहिले मानिसहरूलाई स्वास्थ्यको लागि भन्दा पनि छिट्टो छरितो चाहिने भएकाले सबैले मिलको प्रयोग गर्दै आएका छन् ।’