रुकुम पश्चिममा झडप, सात प्रहरी घाइते

रुकुम (पूर्व) । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते भएका छन् ।

गएराति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सातजना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मुसिकोट नगरपालिका–१ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाबीच झडप भएको हो ।

घटनामा संलग्न ६ जना युवालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए । चार जना भागेको र उनीहरूको खोजी भइरहेको पनि प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।