भेरी डिष्टिलरी एण्ड एलाइट इण्डस्ट्रीजको बदमासी

मदिरा उद्योगको फोहर सिधैं नाला र खेतमा, नागरिकको स्वास्थ्य जोखिममा

सुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर गाउँपालिकावासीलाई झुक्याएको करिब एक दशकअघि स्थापना गरिएको मदिरा उद्योग सञ्चालन गरियो : डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो

बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ मोल्हुपूर्वास्थित भेरी डिष्टिलरी एण्ड एलाइट इण्डस्ट्रीजबाट निस्कने फोहरलाई सिधैं डुडुवा नाला र खेतमा फाल्ने गरिएको छ । जसका कारण त्यस क्षेत्रमा दुर्गन्धित बनेको छ । उद्योगबाट निस्कने फोहरको प्रभावकारी व्यवस्थापन नगर्दा मानवीय स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

उद्योगबाट निस्कने रसायनले स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने दुर्गन्धले त्यस आसपासका नागरिकको स्वास्थ्य जोखिममा परेको छ । लामो समयदेखि स्थानीयले उद्योगबाट निस्किने फोहर व्यवस्थापनको माग राख्दै आए पनि सम्बन्धित निकायले कुनै पहलकदमी लिएका थिएनन् ।

अनुगमनपछि गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले उद्योग स्थापना गर्ने तर त्यसको मापदण्डअनुसार व्यवस्थापन नगर्दा कृषि, पशुचौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको बताइन् । उनले सुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर गाउँपालिकावासीलाई झुक्याएको करिब एक दशकअघि स्थापना गरिएको मदिरा उद्योग सञ्चालन गरिएको पनि बताइन् ।

उद्योग स्थापनापछि प्रभावकारी फोहर व्यवस्थापन, टेण्डर प्रक्रिया, तारबारको अभावजस्ता विभिन्न मापदण्ड पालना नगरेको र स्थानीय सरकारमा दर्तासमेत नभई उद्योग सञ्चालनमा रहेको छ । स्थानीय सरकार अन्तरगत रहेको उक्त उद्योगले वर्षौदेखि स्थानीय कर तिरेको छैन भने उल्टै स्थानीयको कृषि बाली नष्ट गरेको छ ।

उद्योगबाट निस्किने तरल पदार्थ र वायुमा मिसिएर आउने गन्धका कारण स्वास्थ्य समस्या खेप्दै आएको भन्दै स्थानीय नागरिकहरुले आफुहरुलाई खाना खानसमेत समस्या भएको बताए । उद्योगबाट निस्किने फोहर सोझै डुडुवा खोलामा मिसाउने गरिएको छ । मदिरा उद्योगको क्यानल (कुलो) सिधैं आएर खोलामा जोडिएको छ ।

डुडुवा गाँउपालिका–४ सापूर्वाका स्थानीय धनीरामले भने, ‘यहाँ धेरै समस्या छ । डुडुवा खोलाको पानी खाएर पशुचौपाया बिरामी हुने गरेका छन् । हाम्रा लागि पशुचौपाया पाल्ने तथा खेतीपाती गरेर पेट पाल्नुको विकल्प छैन । हाम्रो गुहार कसले सुन्ने ?’ उद्योगबाट निस्किने फोहर सिधैं खोलामा मिसाउँदा पानीको रङ्ग पनि कालो भएको छ ।

खोला तर्दा खुट्टामा घाउ र दाना आउने गरेको पनि स्थानीय नागरिहरु बताउँछन् । ‘हामीलाई दैनिक ४/५ पटक खोला गर्नुपर्छ । खोला तर्दा खुट्टामा घाउसमेत हुँदै आएको छ । हामीसँग औषधि गर्नेसम्म पैसा छैन,’ स्थानीय नागरिकहरु भन्छन् । नाकमुख थुनेर भैसी गोठालो जाने गरेको उनीहरुको भनाई छ ।

उद्योगबाट निस्किने फोहरका कारण तीन/चार किलोमिटर आसपाससम्म दुर्गन्ध फैलिने गरेको छ । त्यस्तै डुडुवा गाँउपालिका–४ की स्थानीय सुन्तली चलाउनेले भनिन्, ‘उद्योगले खुलारुपमा खोलामा फोहर छोडेको छ । हाम्रा बच्चाहरु खोलापारि रहेको विद्यालयमा पढ्न जाने गरेका छन् । दुषित पानीले जीउभरी फोका निस्किएर चिलाउने समस्या छ ।’

चलाउनेका अनुसार उद्योगबाट निस्कएको फोहर सिधैं खोलामा मिसाइएका कारण पशुचौपायाले पिउन सक्ने पानी पनि छैन । ‘सिँचाईका लागि गत वर्ष त्यहाँको पानी प्रयोग गर्दा धानको बिउ पनि सढेर गयो । हावा चलेको बेला सहन नसक्ने दुर्गन्धले निकै सास्ती खोप्दै आएका छौं,’ चलाउनेले भनिन् ।

धेरै गन्धाउन थालेपछि बिरामी हुने, टाउको दुख्ने जस्ता समस्या देखिइरहको चलाउनेको भनाई छ । ‘यो हामी नागरिकको स्वास्थ्यामाथि गम्भीर खेलवाड भएको छ । हाम्रो समस्या र दुःख कसैले बुझ्दैन,’ उनले भनिन्, ‘उद्योगले सुरक्षित हिसाबले वायु तथा तरल पदार्थको पास व्यवस्थापन नगरे हामी आन्दोलनमा उत्रिन्छौं ।’

उद्योगबाट निस्किएको ठोस पदार्थ मानव बस्ती नजिक रहेका खेतमा फाल्ने गरेकोले समस्या थप बल्झिएको पनि नागरिकहरु बताउँछन् । डुडुवा गाँउपालिका–४ का कुरमान रोकायले भने, ‘बढी हावा चल्ने (जेठ, बैशाख) हामीलाई धेरै गाह्रो हुन्छ । यहाँका युवाले एउटा समिति नै गठन गरेर गाँउपालिकामा जानकारी गराएका छौं । तर पनि सुनुवाई भएको छैन ।’

उद्योगबाट निस्किएको फोहर त्यही नजिकै खुला रुपमा सुकाउने गरिएको छ । जसले स्थानीय नागरिकहरुको स्वास्थ्यमा झन् समस्या बढाएको छ । मदिरा उद्योग र गाउँपालिकाको मिलेमतोमा आर्थिक लेनदेन भएकै कारण स्थानीयहरु माग सुनुवाई नभएको त्यहाँका नागरिकहरुको आरोप छ ।

मानव बस्ती नजिकै उद्योगबाट निस्किएको लेदो तथा बिसर्जन हुने बिकार पदार्थ जग्गा भाडामा लिएर खुलारुपमा सुकाउने गरिएको डुडुवा गाउँपालिकाका प्रशासकीय अधिकृत ओमबहादुर राना क्षेत्रीले बताए । जसका कारण वायुमा गन्ध मिसिएर मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको पनि उनले बताए ।

उनले भने, ‘केही दिनअघि हामीले उद्योगको अनुगमन गरेका छौं । उद्योगबाट निस्किएको फोहर पानी सिधैं खोलामा मिसाइएको छ । उद्योगसँग उद्योग सञ्चालन गर्नुपूर्व लिइएको प्रारम्भीक वातावरणीय परिक्षण, मापदण्ड लगायतको विषयमा फाइल उपलब्ध गराउन भनेका छौ । उक्त फाइल आएपछि हामी थप प्रक्रियामा जान्छौं ।’

उनका अनुसार पहिलो पटक अनुगमन गर्दा नीतिगत समस्या भएको थियो । ‘सुरुमा स्थानीय सरकारसँग वातावरणसँग सम्बन्धीत ऐन र कार्यविधि थिएनन् । २०७७ मा स्थानीय सरकारले सम्बन्धीत ऐन र कार्यविधि पास गरेको छ । त्यसैका आधारमा अघि बढ्ने हो । अनुगमन क्रममा सल्लाह सुझाव दिएरै फ्लोअप गरिरहेका छौं र थप अगाडी बढछौं,’ उनले भने ।

उद्योगको फोहरले डुडुवा गाउँपालिका वडा नंं.२, ३ र ४ अन्तरगत करिब ३०० हेक्टर क्षेत्रफलमा लगाइने धान र गहुँबालीलाई प्रत्यक्ष नोक्सानी पुर्याएको गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले बताए । उद्योगप्रति स्थानीय नागरिकको जनगुनासो बढ्दै गएकाले त्यसको व्यवस्थापन तथा नियमन गर्न आवश्यक देखिन्छ ।

भेरी डिष्टिलरी एण्ड एलाइट इण्डस्ट्रीज प्रालिका महाप्रबन्धक नारायण रेग्मीले भने प्रत्येक बर्ष उद्योगबाट निस्किएका पदार्थ तथा धुवाँ÷धुलो न्यूनीकरण गर्दै आएको दावी गरे । उनले कालो पानीको रुपमा निस्किने तरल पदार्थले मानव शरीरलाई कुनै पनि असर नपारेको दावी गर्दै भने, ‘हामीले वायु प्रदुषण न्यूनीकरण र सही व्यवस्थापन गरेका छौं ।’

उद्योगबाट निस्किएको पानी र खरानीका कारण पशुचौपाया मर्ने गरेको भन्ने तथ्य गलत भएको उनको दावी छ । ‘उद्योगबाट निस्किएको पानीमा कुनै प्रकारको रसायन मिसाइएको गरिएको हुँदैन,’ महाप्रबन्धक रेग्मीले भने । हालसम्म पानी खाएका कारण पशुचौपाया मरेको भनेर आफूहरुसँग कुनै गुनासो नआएको पनि उनले बताए ।

उनले भने, ‘आम मानिसले उद्योगबाट निस्किने कालो पानी खाएकै कारण जनावर मर्ने गरेको भने पनि त्यसो होइन । उद्योगबाट निस्किने गन्धलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा हामी सचेत छौं । पहिलाको तुलनामा धेरै न्यूनीकरण भएको छ । धुवाँ व्यवस्थापन पनि गरिएको छ । अहिले त्यति धुवाँ निस्किएको देखिँदैन ।’

कालो पानीलाई व्यवस्थापनका लागि आफुहरुले जग्गा खरिद गरिसकेको र अबको चार महिनाभित्र पोखरी बनाएर त्यही व्यवस्थापन गरिने रेग्मीको भनाई छ । उनले भने, ‘जम्मा भएको कालो पानीलाई पनि फिल्टर गरेर पुन प्रयोगमा ल्याउन सक्ने हामीसँग प्रविधि छ । अबको केही दिनमै त्यो समस्या समाधान भएको प्रत्यक्ष देख्न सकिन्छ ।’