समाचार

नेपाली सेनाका अफिसरको जिउभरि ट्याटु, महिला अधिकृतबीच उस्तै प्रतिश्पर्धा

काठमाडौं । सुरक्षा निकायमध्ये सेना विश्वका जुनसुकै देशमा कडा अनुशासनभित्र बाँधिएको हुन्छ । कपाल लामो पाल्न पाइँदैन भने दाह्री जुँगामा पनि जासुसी ड्युटी, धर्म र रीतिरिवाज बाहेकको अवस्थामा मनपरि गर्ने स्वतन्त्रता छैन । पोशाकमा पनि त्यस्तै कडा अनुशासन लागू हुन्छ ।

झन् पोशाकले छोप्ने शरिरमा सैनिक अनुशासन नलाग्ने त कुरै भएन । तर, अहिले नेपाली सेनाका एक जना मेजरको शरीरभरि ट्याटु खोपिएको फोटो सार्वजनिक भएको छ । सैनिक स्रोत भन्छ, ‘हालसम्म नेपाली सेनामा जागिर खाने कसैले पनि शरीरको कुनै पनि भागमा टाटु खोप्न पाइँदैन । तर,मेजर राजनसिंह अधिकारीको शरीरले त्यसो भन्दैन ।’

हुन पनि एउटा तस्वीरमा अधिकारीको शरीरका धेरै भागमा विभिन्न आकृतिका ट्याटु खोपिएको देखिन्छ । अधिकारीको ट्याटुबारे जिज्ञासा राख्दा सैन्य स्रोतले भन्यो, ‘अधिकारीको मात्र के कुरा गर्नु अरु धेरै महिला अधिकृतले समेत ट्याटु बनाउन थालेका छन् । पुरुषको झैँ उनीहरुको नाङ्गो शरीर हतपत्ति नदेखिनाले त्यो विषय छायाँमा परेको हो ।’

सेनामा महिला अधिकृतबीच शरीरका विभिन्न ठाउँ विशेषगरी संवेदनशील अंगको वरिपरि आकर्षक आकृति र रंगमा ट्याटु खोप्ने चर्को प्रतिस्पर्धा रहेको बताइन्छ । एउटा नेपाली गीत ‘च्याङ्ग्बा हो च्याङ्गबा’ बोलको डिजे राजुसङ्गको म्युजिक भिडियोमा अभिनय गरेकी मोडेल तथा हाल सैनिक मेजरले समेत शरीरको धेरै भागमा टाटु खोपेको सेनाभित्रै चर्चाको विषय बन्ने गरेको छ । यसलाई सेनाभित्र अनुशासन उल्लंघनका रुपमा अन्य फौजका अफिसरले लिने गरेको पाइन्छ ।