भोलिदेखि देशभरको मौसममा बद्ली हुने, ठुलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (आइतबार) देखि मौसममा बद्ली हुने जनाएको छ । शुक्रबार विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आइतबारदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोलि नेपालमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

आइतबारदेखि भने केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित ठुलो वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।