दशैंमा थारू बस्ती सुनसान, नाचिएन सखिया र हुरदङ्गवा नाच

बर्दिया । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोबास गर्ने थारू समुदायको दशैं अष्टमीका दिनदेखि सुरु हुन्छ ।

अष्टमीको बेलुका नयाँ चामलको परिकार ‘ढिक्री’ पकाएर आफ्ना देवतालाई सम्झिन्छन् । यस्तै, भगवानका नाममा ६ देखि ८ वटासम्म लोकल कुखुरा काटेर पूजा गर्छन् । ढिक्री, मासुलगायतका परिकार खाएर रमाइलो गर्छन् ।

युवाहरु रातभर मादल बजाउँदै सखिया र हुरदङ्गवा नाचगान गर्छन् । यस्तै, टीकाको अघिल्लो दिन पितृलाई सम्झिने अर्थात् आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने (पित्रहवा बगाउने) गर्छन् ।

नवमीको विहानैदेखि थारू समुदायले पित्रहवा बगाउने तयारीमा जुट्छन् । पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका दंगाहा तथा देसाउरीहरुले दशैंको टिकाको अघिल्लो दिन आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी नजिकैको नदी वा खोलमा पितृलाई पिण्ड दिने परम्परागत छ ।

हुरदङ्गवा नाचमा सबैजना पुरुषहरु रहने गर्दछन् भने एक जना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादलेसँगै नाच्छन् । अन्य युवा तथा सहभागीहरु ताली पिट्दै हुक्कै हुक्कै भनेर कुद्ने उफ्रने गर्दछन् ।

घटस्थपनाका दिन जमरा राखेर दशैं सुरु भए पनि थारू समुदायले द्वितीयाका दिन जमारा राख्ने र नवरात्राको दिन अर्थात् टीकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी पितृलाई पित्रहवा बगाउने गर्छन् ।

त्यसको भोलिपल्ट टिका लगाउने रहेको थारू अगुवा ठाकुरबाबा नगरपालिका–२ का कालीबहादुर थारूले बताए । तर, पछिल्लो समय यी परम्परा कम हुँदै गएको थारू अगुवा विष्णु थारूले बताए ।

सुनसान थारू बस्ती

कोरोना महामारीका कारण गाउँगाउँमा सखिया नाच हुन नसकेपछि यस वर्ष दशैंमा थारू बस्ती सुनसान भएको छ । बर्दिया, बाँके कैलाली लगायतका जिल्लामा यो वर्ष दशैंको सखिया नाच हुन सकेको छैन ।

विगतका दशैंमा सखिया, झुमरा, मुङग्रहुवा नाच र मादलको तालले थारू गाउँमा बेग्लै रौनक महसुस हुन्थ्यो । दशैंको अवसरमा नाचिने सखिया, झुमरा, मुङ्ग्रहुवा लगायतका थारू मौलिक नाच समूहमा नाचिने नाच हुन् ।

विगत वर्षमा दशैं आउनुभन्दा एक महिना अगाडि नै थारू गाउँमा यस्ता नाच नाचिन्थे । ‘सखिया नाचका कारण चाडपर्वमा बेग्लै रमाइलो महसुस हुन्थ्यो यो वर्षको दशैं, दशैं जस्तो छैन, सुनसान छ‚’ बर्दियाको मधुवनमा गणेश थारूले भने । सखिया नाचमात्रै नभई दशैं, दीपावलीमा देखाइने मुङग्रहुवा नाच पनि गर्न नसकिएको गणेशले बताए ।