कोरोना महामारी

कोरोना उत्पत्ति पत्ता लगाउन डब्ल्यूएचओको ‘नयाँ कार्यदल’

जेनेभास्थित डब्ल्यूएचओको प्रधान कार्यालय ।

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)ले कोरोना भाइरस उत्पत्ति कहाँ र कसरी भयो भन्ने कुरा पत्ता लगाउन नयाँ कार्यदल गठन गरेको छ । डब्लूएचओका अनुसार साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग मिलेर संयुक्त कार्यदल गठन गरिएको हो । जसमा २६ जना विज्ञ राखिएका छन् ।

यो नयाँ कार्यदल कोरोना भाइरस उत्पन्नको वास्तविकता पत्ता लगाउने अन्तिम अवसर हुन सक्ने डब्लूएचओलेले जनाएको छ । सुरुमा २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा कोरोना भाइरस भेटिएको थियो । तर भाइरसको उत्पत्ति त्यहीँ भएको हो वा अन्य स्थानमा तथा कसरी भएको हो भन्ने विषयमा वैज्ञानिक अझै टुंगोमा पुग्न सकेका छैनन् ।

डब्लूएचओका अनुसार नवगठित कार्यदलले वुहानको बजारमा गई कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालाबाट ‘लिक’ भएर फैलिएको हो भन्ने कुरा अध्ययन गर्नेछ । तर प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको शंकाप्रति चीनले कडा विरोध गरिरहेको छ ।

यसअघि कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न गत फेब्रुअरीमा वुहान पुगेको डब्लूएचओको टोलीले कोरोना मेराबाट मानिसमा सरेको सम्भावना देखिए पनि निष्कर्षमा पुग्न थप अध्ययन आवश्यक रहेको बताएको थियो । तर पछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चीनको असहयोगका कारण अनुसन्धान राम्रो हुन नपाएको भनेर आरोप लगाएका थिए ।