विमानस्थलमा सुरक्षा संवेदनशीलता

नेपालगन्ज विमानस्थलमा ‘कडा सुरक्षा’

बाँके । समग्र पश्चिम नेपालको सबैभन्दा ठूलो नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्व सुरु भएसँगै नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगन्ज विमानस्थलमा संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा कडा पार्दै गएको छ । विमानस्थलमा विशेष प्रकारको प्रहरी टोली खटाएर सुरक्षा कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।

दशैँ सुरु भएसँगै पश्चिम नेपाललाई नेपालगन्ज लगायत सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने नेपालगन्ज विमानस्थलमा आवागमन गर्नेहरू अत्यधिक बढेपछि सुरक्षा संवेदनशीलता बढेपछि प्रहरीले विमानस्थलमा तालिम प्राप्त कुकुर राखेर चेकजाँच गरेको छ ।

प्रहरी प्रवक्ता न्यौपानेले कुकुरको सहायताले विमानस्थलको सबै ठाउँमा जाँच भइरहेको बताए । यसअघि विमानस्थलमा जोकोहीलाई पनि जान छुट रहेकोमा हाल आएर पास लिएका र टिकट भएकालाई मात्र विमानस्थलमा छिर्न दिइएको प्रहरीले जनाएको छ ।

सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षाकर्मी पनि थप गरिएको जनाइएको छ । नागरिक उड्डयन कार्यालयको निर्देशनअनुसार विमानस्थलमा खटिएको प्रहरीले जाँचलाई कडाइ गरेको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक सन्तोष शाहले बताए ।

गत महिना ठूलो परिमाणमा सुनसहित दुई जनालाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेपछि विमानस्थलको सुरक्षा कडा पार्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

नेपालगन्ज विमानस्थलका साथै जिल्लाभित्रका विभिन्न राजमार्ग र सहरभित्रका व्यस्त सडक तथा चोकमा विशेष प्रकारको प्रहरी टोली खटाएर सुरक्षा कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

यसअघि भारतका विभिन्न ठाउँबाट मजदुरी गरेर नेपाल भारत–सिमानका हुँदै फर्किने नेपालीलाई रिक्सा चालक, होटलका दलाल र सुरक्षाकर्मीले समेत लुट्ने गरेको गुनासो आएपछि सिमानामा पनि प्रहरीको विशेष टोली खटाइएको छ ।