बाँकेमा हिरासत कक्षको अनुगमन

थुनुवाहरूले भने, ‘हिरासतभित्र सधैँ गुणस्तरहिन आलु र सोयाबिनको तरकारी’

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका थुनुवाहरूले खाना गुणस्तरहिन रहेको गुनासो आएको छ । थुनुवाहरूले हिरासतमा गुणस्तरहिन खाना खुवाउने गरेको र सधैँ आलु र सोयाबिनको तरकारी दिने गरेको गुनासो गरेका छन् ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्ज, एड्भोकेसी फोरम र सिविन लगायत मानवअधिकारवादी संस्थाले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको बन्दी हिरासत कक्ष र त्यहाँ रहेका थुनुवाहरूको अवस्थाका बारेमा जानकारी लिन गरिएको अनुगमनका क्रममा थुनुवाहरूले गुणस्तरहिन खाना खुवाउने गरेको गुनासो गरेका हुन् ।

अनुगमनका क्रममा हिरासतभित्रका शौचालय मर्मत हुन नसक्दा निकै दुर्गन्धीत रहेको पनि थुनुवाहरूले बताएका छन् । थुनुवाहरूले सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान तथा खानेपानी लगायतका अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् । हिरासतमा स्वच्छ पानी आपूर्ति नभएको पनि थुनुवाहरूले गुनासो गरेका छन् ।

अनुगमन टोलीले दुवै प्रहरी कार्यालयका हिरासत कक्ष र त्यहाँ रहेका थुनुवाहरूको अवस्थाका बारेमा जानकारी लिएको थियो । अधिकारकर्मीको टोलीले जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा देखिएका समस्याहरूको बारेमा छलफल र सुधारका लागि सुझाव दिएका छन् ।

अनुगमन टोलीले खानाको गुणस्तर सुधार गर्नुपर्ने, आफन्तहरूलाई भेट गर्ने वातावरणलाई सहज बनाउनुपर्ने, बयानका क्रममा आफूविरुद्ध लगाइएको मुद्दाका सन्दर्भमा बयान लिँदा र लिइसकेपछि पुनः बयानमा लेखिएका कुराहरू एकपटक सुनाएर मात्र हस्ताक्षर गराउने लगायतको सुझाव दिइएको एड्भोकेसी फोरमका अध्यक्ष वसन्त गौतमले बताए ।

अनुगमनका क्रममा हिरासतमा रहेका थुनुवाहरूलाई समयमा म्याद थप नगरी हिरासतमै राखेको, खानाको गुणस्तर नभएको, इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा पङ्खाको व्यवस्थापन नभएको लगायतका कमजोरीहरू देखिएको इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले जनाएको छ ।