बडादशैको आज सातौं दिन

आज महासप्तमी, कालरात्री देवीको पूजा आराधनासँगै घरघर भित्र्याइँदै फूलपाती

फाइल तस्वीर

काठमाडौं । नवरात्रको सातौं दिन अर्थात् महासप्तमी । नवदुर्गामध्येकी कालरात्री देवीको पूजा आराधना गरिँदै छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रीकोे पूजा–आराधना गरिन्छ । धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन् ।

तीन आँखा भएकी कालरात्रीले बारम्बार निश्वास लिने गर्छन् । त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ । चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन् । स्वरूप डरलाग्दो भए पनि कालरात्रीले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ । महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको र भद्रकालीको विशेष पूजा आराधना गरिन्छ । विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ ।

शक्तिपीठ तथा जमरा राखिएका दशैंघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ । यसलाई बोलीचालीमा फूलपाती भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिका पातलाई नवपत्रिका भनिन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गर्ने विधान छ । यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ ।

घरघर भित्र्याइँदै फूलपाती

बडादशैको सातौं दिन अर्थात् सप्तमी । आज प्रत्येक घरघर, दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ । यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो । मैथिल पूजाविधिमा पनि यसको उल्लेख छ । सर्वसाधारणले बिहानै वा आफ्नो अनुकूलको समयमा फूलपाती भित्र्याउँछन् । विभिन्न शक्तिपीठ र कोतघरहरूमा अपराह्नतिर फूलपाती भित्र्याउने चलन छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जना र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

के हो फूलपाती ?

नव अर्थात् नौ, पत्रिका अर्थात् पत्र । फूलपातीमा नौ प्रकारका वनस्पतिका (पत्र) हुने भएकाले संस्कृतमा यसलाई नवपत्रिका भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई नवपत्रिका भनिन्छ । दशैंघरमा यी नौ वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ । यी सबै वनस्पति नपाइने ठाउँमा अन्य बोटबिरुवा संलग्न गरी नौवटा पुर्याइन्छ ।

केराको बोटमा रम्भाधिष्ठात्रीको रूपमा ब्राह्मी, दारिममा रक्तदन्तिका, धानको बोटमा लक्ष्मी, हरिद्रामा दुर्गा, मानकको बोटमा चामुण्डा र कचुको बोटमा कालिकाको पूजा गरिन्छ । यस्तै, बेलको बोटमा शिवा, अशोकको बोटमा शोकहारिणी र जयन्तीमा कार्तिकीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको छ । नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरू खाद्य पदार्थको साथै औषधि उपचारमा समेत उपयोगी मानिन्छन् ।

प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको प्रयोग गरिन्छ । औषधीय गुणले युक्त र जीवनका विभिन्न समयमा आवश्यक परिरहने भएकाले यी वनस्पति फूलपातीमा नवदुर्गालाई चढाउने परम्परा चलेका हो । बडादशैं अन्तर्गतको यो दिनले फूलपाती दशैंघरमा भित्र्याउने र पूजा गर्ने मात्र नभई यिनको महत्त्व बुझेर संरक्षण संवर्धन गर्न प्रेरणा दिन्छ । साथै, तिनबाट वातावरणीय र औषधीय रूपमा फाइदा लिई स्वाथ्य रक्षा गर्न प्रेरित गर्छ भन्ने मान्यता छ ।