यस वर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।

अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो ।

देशका ८६ ठाउँमा रहेका मापन केन्द्रको रेकर्ड अनुसार यस वर्षको मनसुनमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा समेत मनसुन भित्रिएको सुरुमै सक्रिय भयो भने सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुरलगायतका ठाउँमा आरीघोप्टे वर्षा अर्थात् भाँडोबाट खन्याए झैँ एकै पटक ठूलो पानी परेको छ ।

जेठ अन्तिमदेखि असोज मध्यसम्म अर्थात् झन्डै चार महिना चल्ने मनसुनमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतभन्दा धेरै पर्ने गर्दछ ।

मनसुन बाहिरिएसँगै अहिले नेपालमा कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।