समाचार

हास्य कलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिए (लेखे यस्तो भावुक पत्र)

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज विवाह गरेका हुन् । मञ्जु पोखरेलसँग आफूले विवाह गरेको मनोजले जानकारी दिएका छन् । उनले जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस भएर बिवाह गरेको पनि जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेल जीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

फेसबुकमा राखिएको उनको भावुक भनाई जस्ताको तस्तै :

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !

जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्ष पहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ । जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समय क्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो ।

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्याैं । अगाडि आईपर्ने सुःख दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो । सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ, कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला ।

मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला । कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नु हुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनाबश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदाररुपमा जाहेर गर्दछु ।

बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनुपरेको छ । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत सञ्जालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ, कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला ।

अन्त्यमा, पुनः सम्पूर्णं आफन्त, साथी तथा शुभचिन्तकहरुलाई यो सुखद जानकारी गराउछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गर्यौँ । त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ । अनि, सपरिवार मानव सेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।।

नवदुर्गा भवानीले सबैको रक्षा गरुन् । बडादशैँको हार्दिक शुभकामना ।