समाचार

न्याय खोज्दै नेपालगन्जदेखि काठमाडौंसम्म पैदलयात्रा

पीडितले न्याय पाउने सुनिश्चितता नभएसम्म उनीहरू बाँके नफर्कने अडानमा छन् ।

काठमाडौं । दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र १४ अधिकारकर्मी काठमाडौं आइपुगेका छन् । न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म २० दिनको पैदल मार्च गरेर उनीहरू गएको बुधबार बिहान कलंकी आइपुगेका हुन् । ज्ञापनपत्र बुझाउन बुधबार साँझ सिंहदरबार गए पनि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पाएनन् ।

यही असोज १ गते पैदल मार्च सुरु गर्नुअघि जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा १९ दिन (भदौ १३ देखि ३१) सम्म धर्ना दिँदा सुनुवाइ नभएपछि उनीहरू पैदलै काठमाडौं आएका हुन् । आजदेखि उनीहरू माइतीघरमा रिले अनशनमा बसेका छन् । पीडितले न्याय पाउने सुनिश्चितता नभएसम्म उनीहरू बाँके नफर्कने अडानमा छन् । प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरूको तयारी छ ।

दुई शंकास्पद हत्याका बारेमा प्रशासन मौन रहेपछि बाध्य भएर पैदल मार्च गर्नुपरेको महिला अधिकार मञ्चकी सदस्य रुबी खानले बताइन् । बाँके, नेवाजी गाउँकी नन्कुनीदेवी धोबीले श्रीमान् रामकुमार र जेठाजुसहित घरका पाँचजनाले दुःख दिइरहेको भन्दै गएको असार ७ गते महिला अधिकार मञ्चमा निवेदन दिइन् । श्रीमानले यातना दिन थालेपछि उनले बाँकेमा रहेको मञ्चमा निवेदन दिएकी थिइन् । मञ्चका पदाधिकारीले प्रहरीलाई खबर गरे ।

सोही दिन नन्कुनीदेवी र उनका श्रीमान् राखेर छलफल गरियो । प्रहरीले घरमै गएर मिलापत्र गरायो । त्यसको करिब २५ दिनपछि उनी पुनः मञ्चमा आइन् । श्रीमानले फेरि मार्ने धम्की दिएको उनले बताइन् । खान सम्झिछिन्, ‘त्यस दिन साँझ परिसकेको थियो, हामीले अहिले जानुस् दिदी भोलि आउनुस्, जिल्ला प्रहरी कार्यालय जाउँला, के–के गर्न सकिन्छ गरौँला भनेर पठायौँ । उहाँ हुन्छ भोलि आउँछु भनेर जानुभयो ।’

सोही राति कुटपिटपछि नन्कुनीदेवीलाई घरबाट निकालिएको र उनी भागेर बहिनीको घरमा पुगेको अधिकारकर्मी खानको भनाइ छ । त्यसको करिब ६ दिनपछि उनले मञ्चमा फोन गरेर आफू बहिनीको घरमा भएको र श्रीमानले कुटपिट गरेको बताइन् । खानले नन्कुनीदेवीलाई मञ्चमा आई जिल्ला प्रशासन कार्यालय जान आग्रह गरिन् । नन्कुनीदेवीले चार–पाँच दिनमा आउने बताइन् ।

त्यहीबीच उनले फेरि खानलाई फोन गरिन् । खानका अनुसार श्रीमानले फोन गरेर घर बोलाएको खुसी हुँदै जानकारी गराइन् । ‘सुध्रिएजस्तो छ म घर फर्किन्छु,’ भनिन् । खान अझै सम्झिछिन्, ‘त्यो तपाईंको इच्छा दिदी, तर केही पर्यो भने मलाई खबर गर्नुस् है, नआत्तिनुहोला भनेँ ।’ घर फर्किंदा नक्कुनीदेवी मञ्चको कार्यालय पसेर खान लगायत सबै कर्मचारीलाई भेटेर गइन् । साउन ५ गते नन्कुनीदेवी पुनः मञ्च आइन् ।

खानका अनुसार उनले भनेकी थिइन्, ‘मेरो श्रीमानले माया गरेर बोलाएको भनेको रोपाइँको लागि रहेछ । अहिले रोपाइँ सकेपछि कुटपिट गर्यो । डोरी दिँदै फाँसी लगाएर मरिहाल या विष खाएर मरिहाल, नत्र मारिदिन्छु भन्छ । यो सबै जेठाजुको कारण भइरहेको छ ।’ नन्कुनीदेवीको आफ्नै सन्तान छैन । उनी रामकुमारकी तेस्रो पत्नीका रूपमा भित्रिएकी हुन् । पहिलो श्रीमतीको मृत्यु भइसकेको र दोस्रोले यातना सहन नसकेर भागेको खान बताउँछिन् । पहिलो पत्नीबाट छोरी छ ।

खानका अनुसार जेठाजुले आफ्नो छोरालाई धर्मपुत्र बनाएर सम्पत्ति दिन दबाब दिएको नन्कुनीदेवीले बताएकी थिइन् । उसैले रेखदेख गर्छ भन्दै अनेक आश्वासन दिइएको थियो । श्रीमान् र उनीबीच यही कुरालाई लिएर ठाकठुक परिरहन्थ्यो । प्रतिवादमा उत्रिएपछि यातना दिन थालियो । साउन ६ गते बिहान नन्कुनीदेवी घरमै झुन्डिएको अवस्थामा मृत फेला परिन् । ससुरालीले माइती पक्षलाई खबर गरेन । प्रहरीले खोजेपछि माइतीपट्टिका आफन्तले जानकारी पाए । साउन ५ गते राति उनको हत्या गरिएको आफन्तको आरोप छ ।

‘उनको शव भेटिएको कोठामा न त कुुनै खाट छ न उनी त्यति माथि चढ्न सक्छिन् । पति बरन्डामा सुतेको प्रहरी रिपोर्टमा उल्लेख छ,’ खानले भनिन्, ‘प्रहरीले ढोका नतोडी ढोका खोलेको देखिन्छ । घाटीमा घाउ छ । नाक र मुखबाट रगत निस्केको छ । पिठ्युँमा नीलडाम । यो हत्या होइन भनेर कसरी नपत्याउने ?’ नन्कुनीदेवीको माइती पक्षले मुचुल्का उठाउन नमानेपछि प्रहरीले उनका बाबुको जबर्जस्ती औँठाको छाप लिएको खानको दाबी छ । अनुसन्धान नै नगरी घटनालाई आत्महत्या भनेको प्रहरीले परिवार र अधिकारकर्मीले पैदलयात्रा थालेपछि नन्कुनीदेवीका श्रीमान् र जेठाजुलाई गिरफ्तार गरेको छ ।

०००

एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरमा बेपत्ता भइन् । मंसिर १६ गते स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । उनको मृत्यु भइसकेको बताइएको छ । बाँकेको परस्पुर गाउँकी एकल महिला निर्मला एक वर्षदेखि बेपत्ता छिन् । सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको अधिकारकर्मी खानको आरोप छ ।

सो सम्बन्धमा गत वर्ष मंसिर १६ गते नै जिल्ला प्रहरीमा अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरी दर्ता गरिएको थियो । तर, डेढ महिनापछि प्रहरीले निर्मलाको मृत्यु भइसकेको जानकारी दियो । उनको मृत्यु भएको भनिए पनि शव देखाइएन । निर्मलाको अपहरणमा संलग्न रहेको भन्दै आफन्तले बादशाह कुर्मीविरुद्ध किटानी जाहेरी दिएका छन् । बादशाह पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता हुन् ।

आरोपितलाई पक्राउ नगरी प्रहरीले संरक्षण गरेको आफन्तको आरोप छ । आरोपितलाई समात्न नपरोस् भनी समातेर १२ घण्टा थुनामा राखेको झुटो रिपोर्ट बनाएको उनीहरूको आरोप छ । झुटो रिपोर्ट सरकारी वकिलको कार्यालयमा बुझाएर त्यसको आधारमा बयान भएर हाजिरी जवानीमा उनलाई छोडिएको आफन्तको दाबी छ । मुद्दा नै मुल्तबीमा राखिएकोले दबाब दिन जरुरी भएको अधिकारकर्मी बताउँछन् ।