अफगान महिलाका सपना : तालिबान आएसँगै चकनाचूर

भर्खरै

काठमाडौं । तेक्वान्डो खेलाडी मार्जिया हमिदीसँग ठूलो सपना थियो । १९ वर्षीया अफगान खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामाथि आँखा लगाएकी थिइन् । तर खेलकुदमा महिला सहभागिताको विरोध गर्ने तालिबानले अगस्टमा सत्ता कब्जा गरेपछि उनका सबै सपना तुहिएका छन् ।

बीस हजारभन्दा बढी फलोअर्स रहेको हमिदीको इन्स्टाग्राम हेर्दा उनको विगत रमाइलो र जोशपूर्ण देखिन्छ । तर हालविगतको रमाइलो र जोश हराएको छ । अहिले अफगानिस्तानका नयाँ शासकहरुको डरका कारण उनले कालो अबाया र हिजाब लगाउँछिन् । सेप्टेम्बरको अन्त्यतिर तालिबानले खोज्दै आएपछि उनी लुक्नु परेको थियो ।

‘तालिबान सत्तामा आएपछि आफ्ना मेडल फाल्नेबारे सोचेकी थिएँ,’ अलजजिरासँग उनले भनिन्, ‘जलाइदिउँ कि राखौं ? मनमनै सोचेकी थिएँ । तर दाईले सुरक्षित स्थानमा राख्न भन्नुभयो ।’ तालिबानसँग डराउने हमिदी एक्ली महिला होइनन् । कैयौं महिलाहरू यसअघिको तालिबान शासनमा झैं अदृश्य भएर बाँच्नुपर्ने हो कि भनेर त्रसित छन् ।

तालिबान २० वर्षपछि पुनः सत्तामा आएसँगै मानिसहरूले आफैंलाई सीमित बनाएका छन् । तालिबानशासनमा आफ्नो जीवन पुनः सकसपूर्ण वा दमित हुने डरले अफगानीहरू र त्यसमा पनि महिलाहरू बढी चिन्तित देखिन्छन् । सुरुमा तालिबानले इस्लामिक कानून अनुसार महिलाको सम्मान गर्ने र उनीहरूलाई सरकारी काम गर्न दिने बाचा गरेको थियो ।

तर बालिका÷किशोरीका लागि माध्यमिक विद्यालय बन्द छन्, स्वास्थ्यजस्ता थोरै पेशा बाहेक महिलाले अन्य काम गर्न नपाउने भनेर अनौपचारिक बन्देज लगाइएको छ । तालिबानको बचन र हाल भइरहेका व्यवहार नमिलेको आलोचकहरू बताउँछन् । यसअघिको महिला मन्त्रालयलाई इस्लामिक मूल्य–मान्यता प्रवर्द्धन गर्ने जिम्मेवारीसहितको सदाचार प्रवर्द्धन तथा दुस्कर्म रोकथाम मन्त्रालयमा परिणत गरिएको छ ।

यसले अफगानिस्तानमा महिला सशक्तिकरणमाथि सवाल खडा गरेको छ । गत महिला कैयौं शहरमा महिलाहरूले आफ्नो अधिकार माग्दै प्रदर्शन गरे तर उनीहरूलाई निर्मम दमन गरियो । सन् १९९६ देखि २००१ सम्मको तालिबान शासनमा महिलालाई सार्वजनिक स्थलमा देख्न पाइन्नथ्यो किनभने उनीहरूमाथि काम गर्न प्रतिबन्ध लगाइएको थियो भने पुरुषबिना हिंड्डुल गर्न पाउँदैनथे ।

महिलाको पोशाक र उनीहरूको व्यवहारसम्बन्धी नियम उल्लंघन गरेमा सजायँस्वरूप कोर्रा लगाइन्थ्यो र ढुंगाले हानी–हानी मारिन्थ्यो । आफूजस्तै अन्य महिलाले आगामी दिनमा त्यस्तै नियति भोग्नु पर्ने हो कि भन्ने चिन्ताले हमिदीलाई सताएको छ । काबुलको मुटुमा रहेको एउटा आठतले भवनभित्रको एक क्याफेमा बस्दै उनले अबया खोलिन् र अबया लगाएर हिंड्दा आफूलाई असहज हुने बताइन् ।

शरणार्थी परिवारमा जन्म


हमिदी इरानमा जन्मेकी हुन् । एउटा अफगान शरणार्थी परिवारमा उनको जन्म भएको हो । १५ वर्षको उमेरमा तेक्वान्डो सिक्न थालेकी उनलाई यो खेल सुरुमै निकै मन परेको थियो । त्यसपछि उनी व्यवसायिक खेलाडी बनिन् । पछि उनले ५७ तौल समूहमा कैयौं राष्ट्रिय मेडल समेत जितिन् । तर ३ वर्षअघि परिवारले पुनः अफगानिस्तान फर्किने निर्णय गरेपछि उनको खेलकुद जीवन अवरुद्ध हुन पुग्यो ।

उनका बाबु विदेशी भूमिमा शरणार्थी भएर बस्न चाहँदैनथे, जहाँ उनीहरू रंगभेदको शिकार बनेका थिए । इरानमा सरकारी विवरणमा उल्लेख गरिएका ८ लाख शरणार्थीबाहेक अभिलेख नगरिएका २० लाखभन्दा बढीअफगान शरणार्थी छन् । त्यसपछि काबुलमा राम्रै कमाइ हुने व्यवसाय गर्दै आएका दाइसँग उनीहरू बस्न थाले । तर एउटा आत्मविश्वासी खेलाडीका लागि काबुलजस्तो ठाउँमा अभ्यास गर्न निकै कठिन थियो ।

‘अफगानिस्तानमा महिला तेक्वान्डो खेलाडीलाई सँधै गाह्रो हुन्छ । मेरा प्रशिक्षकले मलाई र मेरो अनुहारलाई घुरेर हेर्थे र मैले असहज महसुस गर्थे । तेक्वान्डो टोलीमा रहेका अन्य महिलाले टाउको छोपेका हुन्थे अनि मैले नछोपेको भनेर गुनासो गर्थे,’ तेक्वान्डो खेलाडी हमिदीले भनिन् ।

तालिबानले खोज्दै आउँदा लुक्नुपर्यो


हमिदीले गत हप्ता उनलाई खोज्दै अपरिचित मानिसको एक समूह घरमा आएको बताइन् । ती मानिसहरू दाइको अफिसमा पनि गएका थिए । सामाजिक सञ्जालका गतिविधिका कारण आफूलाई खोजिएको हुन सक्ने उनले सुनाइन् । तालिबान सत्तामा आएको डेढ महिनापछि हमिदीले लुकेर बस्ने निर्णय गरिन् । हाल बारम्बार ठाउँ बदल्दै लुकेर बसेकी उनी निरन्तर डरमा बाँचिरहेकी छन् ।

तेक्वान्डो खेलाडी हमिदीले भनिन्, ‘अफगानिस्तान छोडेर आफ्नो प्रशिक्षण पुनः सुरु गर्न मन छ किनभने २०२४ को ओलम्पिकका लागि तयारी गर्न चाहन्छु । तर म इरान जान चाहन्नँ । त्यहाँ शरणार्थीको अवस्था खराब छ, रंगभेद छ । मैले उत्कृष्ट खेले पनि उनीहरूले मलाई ओलम्पिकमा भाग लिन दिँदैनन् । तालिबान सत्तामा आएपछि अफगानिस्तान सबै कुरा फेरिएको छ ।’

पछिल्लो २० वर्षमा महिला अधिकारको क्षेत्रमा अफगानिस्तानले प्रगति गरेको छ । लैङ्गिक समानताको समर्थन गर्ने शिक्षा तथा कार्यक्रमसम्मको व्यापक पहुँचबाट हमिदी जस्ता महिला लाभान्वित भएका छन् । सन् २००१ मा अमेरिकी नेतृत्वको फौजले तालिबानलाई सत्ताबाट हटाएका बेला ५.७ प्रतिशत रहेको महिला साक्षरता दर २०१८ सम्म आउँदा बढेर २९.८१ प्रतिशत पुगेको थियो ।

महिलाहरूले पुरुषसँगै विश्वविद्यालयमा पढ्न पाउथे, रंगिचंगी ट्युनिक लगाएर हिंड्न सक्थे । हिजाब महिला पोशाकको एक अंग भए पनि काबुलका क्याफे र रेष्टुरेन्टमा आउँदा फुकाल्थे र पुरुषसँग घुलमेल हुन सक्थे । यस्ता महिलाका लागि तालिबान सत्ताको पुनरागमन रंगिचंगी जीवनको अन्त्यजस्तै भएको छ ।

सुदूरको सपना


विदेशी संस्थाकी कर्मचारी भएका कारण मिना नाइमीले कब्जा भएपछि सजिलै काबुल छोड्न सक्थिन् । तर उनले आफ्नै देशमा बस्ने निर्णय गरिन् । हाल पास्तो साहित्यमा स्नातकोत्तरको अन्तिम सेमेस्टरकी विद्यार्थी नाइमीले पढाइ पूरा गरेपछि विदेश जाने आशा गरेर बसेकी छन् । तर नाइमीलाई तालिबान शासनमा आफ्नो पढाइ पूरा गर्न कठिन हुन सक्छ । उनी पढ्ने विश्वविद्यालय महिलाका लागि पुनः खुलेको छैन ।

यदि खुल्यो भने पनि भिन्नै पढ्नुपर्नेछ । ‘यस्तो अवस्था आउँछ भनेर मैले सोचेकी थिइनँ । यस्तो अवस्थामा मेरो देश छ भनेर विश्वास गर्न मलाई निकै कठिन भइरहेको छ,’ नाइमीले भनिन्, ‘मसँग आफ्नो पढाइ पूरा गर्ने र जागिर खाने कुनै आशा छैन किनभने उनीहरूले समाजमा हाम्रो सहभागिता चाहँदैनन् । तालिबान शासकहरूले महिलालाई सखाप पारेर शान्ति ल्याएका छन् ।’

‘अबदेखि महिलाहरू घरभित्रै बस्नुपर्ने हुनसक्छ जबकि पुरुषले आफ्नो पढाइलाई निरन्तरता दिन सक्छन् । मैले आफैंलाई ऐनामा हेर्छु र आफ्ना योजना सुदूरको सपना बनेको अनुभूति गर्छु । म बिस्तारै मरिरहेको जस्तो लाग्छ’, नाइमीले थपिन् । विगत २० वर्षमा अफगान महिलामा निकै परिवर्तन भएका छन् । उनीहरूमध्ये कैयौं महिलाहरू आफूमाथि लादिएका कडा नियमसँग सहमत छैनन् र आफ्नो मागपरित्याग नगर्ने बताउँछन् ।

हेरातकी महिला अधिकारकर्मी होमेरी कदेरीले तालिबानविरुद्ध नागरिक प्रतिरोध गर्नुपर्ने ठान्छिन् । तर अधिकांश महिलाहरू आफ्नो अधिकारको पक्षमा उभिन डराउने कुरा पनि उनलाई थाहा छ । ‘तालिबानले काबुल कब्जा गरेपछि मैले मिडियामा गएर उनीहरू समक्ष आफ्नो कुरा राखेँ । उनीहरूले चुप लागेर नबस्ने महिलाको कुरा सुन्नुपर्छ । म बोलीको शक्तिमा विश्वास गर्छु,’ ४१ वर्षीया कदेरीले भनिन्, ‘तर हरेक दिन तालिबानले सडकमा महिलामाथि दुर्व्यवहार गरेको देखिरहेका छौं ।’

हाल अफगानिस्तानका सडकहरू महिलाका लागि असुरक्षित बनिरहेका छन् । प्रतिरोध भनेको उज्यालोतर्फको मार्ग हो । तर तालिबानविरुद्ध महिलाबाट हुने प्रतिरोधले कोर्रा र बन्दुकको सामना गर्नु परे के होला ? यसअघिको तालिबान शासनमा कदेरी भर्खरकी किशोरी थिइन् । त्यतिबेला महिलासँग बिहे गर्ने र छोराछोरी हुर्काउने बाहेक अर्को विकल्प नभएको उनी सम्झिन्छिन् । कैयौं महिलाले नचिनेका वा आफूले मन नपराउने मानिससँग बिहे गर्नु पर्थ्यो ।

त्यो पनि सुसूचित भएर निर्णय गर्न नसक्ने उमेरमा । ‘तालिबान सरकारमा संस्थागत रूपमै महिला हिंसा हुन्छ,’ कदेरीले सुनाइन्, ‘तालिबानले महिला हिंसालाई माध्यम बनाएनन् भने उनीहरूले आफ्नो पहिचान गुमाउँछन् । तर दासत्वको युग अन्त्य भइसकेको छ र हामीलाई दास बनाउने हरेक प्रयास ढिलो–चाँडो विफल हुनेछन् । विश्वले अफगान महिलालाई फेरि बेवास्ता गर्ने छैन् भन्ने आशा राखेकी छु ।’ (अलजजिराबाट)