प्रोफाइल

माओवादीले मन्त्री छानेका को हुन् ‘अथक’

भर्खरै

बाँके । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज ‘अथक’ र बोधमायाकुमारी यादवलाई छनोट गरेको छ । मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने ।

माओवादीले बनाएको यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन् । यद्यपि अघिल्लो छनोटमा चाहिँ पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दोहोरिएका थिए । बाँकेका सांसद महेश्वर गहतराज ‘अथक’ र बाग्लुङबाट निर्वाचित सांसद देवेन्द्र पौडेल यसअघि एकपटक पनि मन्त्री बनेका छैनन् । धनुषाकी सांसद बोधमायाकुमारी यादव पनि मन्त्रीको छनोटमा परेका छन् । यादवले राज्यमन्त्री पाउनेछिन् ।

माओवादी केन्द्रबाट मन्त्री हुन लागेका बाँके क्षेत्र नं. १ बाट निर्वाचित सांसद महेश्वर गहतराज ‘अथक’ ब्यक्तिगत विवरण :


बिद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रस्तावित मन्त्री महेश्वर गहतराज ‘अथक’को स्थायी ठेगाना कोहलपुर नगरपालिका, बाँके हो । २०२८ भदौ १२ गतेर रुकुममा जन्मिएका गहतराजको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन् । उनले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । २०४५ सालमा अनेरास्ववियु वीरेन्द्र मावि बाँफीकोटको सचिवबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

२०४८ सालमा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य रहेका उनी २०५१ सालबाट माओवादीको राजनीतिमा सक्रिय भएका थिए । २०५६ सालमा रुकुमको तत्कालिन माओवादी जनसरकार उपप्रमुख रहेका गहतराज २०५७ सालमा क्षेत्रीय ब्युरो प्रमुख तथा रुकुम इञ्चार्ज भएका थिए । २०५८ सालमा माओवादीको जुम्ला, मुगु र हुम्ला इञ्चार्जको भूमिका निर्वाह गरेका थिए ।

२०५९ सालमा बाँके, बर्दिया इञ्चार्ज रहेका उनी २०६० सालमा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६५ सालमा एकीकृत माओवादीको केन्द्रीय सदस्य तथा थारुवानको सेक्रेटरी भएका थिए । २०७३ सालमा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य र २०७५ मा तत्कालीन नेकपाको केन्द्रीय सदस्य भएका थिए । गहतराज प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बाँके क्षेत्र नंबर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।