आजदेखि सार्वजनिक गाडीलाई ‘रुट पर्मिट’ नचाहिने

भर्खरै

काठमाडौँ । आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन्  ।

दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो ।  आजदेखि कोजाग्रत  पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।

यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

ट्रेलरलगायतका  ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो ।

यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् । विशेषगरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता यो सडकखण्डमा लामो जाम हुने गरेको छ ।

अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् ।