समाचार

गाभरमा रातभरि बाघको त्रास

फाइल तस्वीर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ गाभरमा घर छेउछाउमै आएर रातभरि पाटेबाघ कराउन थालेपछि स्थानीय नागरिक त्रसित छन् । हरेक रात गाभर गाउँछेउमै आएर बाघ कराउन थालेपछि घरबाट निस्कन पनि डर लाग्ने गरेको गाभरकी स्थानीय कालिका खड्काले बताइन् ।

‘बाघ हाम्रो घरछेउमै आएर कराउने गर्छन्, हामी घरबाहिर निस्कने अवस्था नै छैन,’ उनले भनिन्, ‘रातको समयमा हामीलाई शौचालय निस्कन पनि गाह्रो भइसक्यो, बाघको डरले नसुतेरै जाग्राम बसिरहेका छौँ ।’ गत केही दिनदेखि बाघको डरले रातभरि सुत्न नपाएको खड्कासहित गाउँका अधिकांश नागरिकको दुःखेसो छ ।

गाउँनजिकै मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा चारवटा पाटेबाघ निरन्तर देखिए पनि निकुञ्जले उनीहरूलाई अझै नियन्त्रणमा लिन नसकेको गाभरका अर्का बासिन्दा सेतु ओलीले बताए । उनले गाउँ नजिकै राजमार्गबाट दुई साता अघि एकजना भारतीय नागरिकलाई बाघले तानेर जङ्गलमा लगेर खाएपछि चारैतिर डर र त्रास फैलिएको बताए ।

पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालकले पनि गाभर नजिकको राजमार्गमा बाघ ओहोरदोहोर गरेको देखेको बताए । बाघको पहिचान गर्न केही दिनअघि निकुञ्जले राखेको क्यामरामा पनि एउटै क्षेत्रमा चारवटा बाघ कैद भएका थिए । गाभर क्षेत्रमा रहेका बाघलाई तत्काल उक्त क्षेत्रबाट हटाउन वा नियन्त्रणमा लिन स्थानीयले माग गरेका छन् ।

उनीहरूले त्यसो नगरिए आफूहरू दिउँसो पनि घरबाट निस्कन नसक्ने अवस्था आउने बताएका छन् । शनिबारमात्रै भँैसी र बाख्रा चराउन गएका बेला सो गाउँका तीन जनालाई पाटेबाघले घेरा हालेका थिए । बाघबाट जोगिन रूखमा चढेका उनीहरूलाई करिब डेढ घण्टापछि निकुञ्जका हात्तीको सहायताले उद्धार गरिएको थियो ।

सो घटनाबाट त्रसित भएका गाभरका स्थानीय बासिन्दाले पशुचौपाया चराउन जङ्गल जान छाडेका छन् । रूखमा चढेर बाँच्न सफल भएका व्यक्तिले जङ्गलमा चारवटा बाघ एकैठाउँमा देखेको बताएका छन् । बाघले आतङ्क मच्चाउन थालेपछि निकुञ्जले गाभरमा माउतेसहित दुईवटा घरपालुवा हात्ती राख्दै आएको छ ।