समाचार

विद्यार्थीकाे पीडा : प्लास्टिकको झोलामा बोक्छन् किताब

दैलेखको ठाटीकाँध गाउँपालिका–१ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा जादै गरेका विद्यार्थी ।

दैलेख । पश्चिम दैलेखको एउटा गाउँ । सीम–सीम पानी न त हातमा छाता, न त झोला नै । भिजेका लुगा कपडा, सेतो प्लास्टिकका झोलामा किताब अड्काएर दुगुरिरहेका थिए । छाता नहुँदा उनीहरू झोलासहित भिजिरहेका थिए । दैलेख ठाँटीकाँध गाउँपालिका–१ को कृष्ण माध्यामिक विद्यालय भैरवस्थानमा अध्ययनरत एक हुल विद्यार्थीको दृश्य हो ।

विद्यार्थी अस्मिता विक, कल्पना, विद्या शाही, प्रकाश र भुवन विक । विद्या शाही कल्पना विक सात, आठ वर्षका उनीहरू ३ कक्षामा अध्यनरत विद्यार्थी हुन् । ६ वर्षका अस्मिता, प्रकाश र भुवन विक कक्षा २ मा अध्ययनरत छन् । घरबाट जाँदा छाता छैन । कक्षामा भिजेका किताब निकाल्न डराउँछन् । भिजेको किताब निकाल्दा शिक्षकको कुटाइ खानुपर्ने पो हो कि भनेर बेला बेला जिउभरि काँडा उम्रिन्छन् ।

कोरोनाले गर्दा लामो समय विद्यालय देख्न पाएनन् । घरमै बस्नुपर्यो । विद्यालय सञ्चालन भए तर, किताब कापी बोक्न झोला छैन । मुस्किलले कलम कापी पाउँछन् । दुई चार वटा कापी कलम किन्नलाई पनि लामो समय कुर्नुपर्छ । विद्यालयदेखि पाएका किताब पनि झोला छाता नहुँदा निर्थुक्क भिज्छन् । भिजेका किताबसँगै विद्यालय पुग्दा शिक्षकको कुटाइ खाइने हो कि भन्ने डरले कोही आधा बाटोबाटै घर फर्किन्छन् ।

कोही बाटोमै अलमल भएर साँझ घर फर्किन्छन् । घरदेखि करिब आधा घण्टाको बाटो हिँडेर विद्यालयसम्म पुग्दा पानि परेका बेला किताबहरू भिज्ने समस्याले हैरानी खेप्नु परेको छ । अस्मिता, विद्यालगायत चारजना अन्यले स्कुल भर्ना भएदेखि झोला बोक्न पाएका छैनन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पनि उनीहरूले झोला बोक्न नपाएको भनाइ छ । उनीहरू चार जना एक प्रतिनिधि पात्र मात्र हुन् । यहाँका अधिकांश नागरिक झोला, कापी कलम लगायतका पाठ्य सामग्रीको अभाव झेल्नुपरेको छ ।

‘किताब, कापी राख्ने झोला छैन प्लास्टिकमै बेरेर किताबसहित विद्यालय आउछौँ, जान्छौँ,’ अस्मिताले भनिन्, ‘आमालाई झोला किन्दिनुस् भनेको, आमाले झोला किन्ने पैसा छैन, बुबालाई भनेको बुबालाई पनि ठेकेदारले पैसा दिएको छैन, दिएपछि दुईचार महिनापछि पठाउला भन्नुभयो । यसरी नै प्लास्टिकको झोला बोकेर विद्यालय जान्छौं, पानी परे सबै कापी किताब भिज्छन् । पानी परेका बेला विद्यालय जान छातासमेत छैन ।’

अस्मिताले झोला किन्न चार पाँच सय पर्छ रे, त्यही पैसा आमाबासँग छैन, झोला कहाँबाट किन्ने ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘पानी पर्दा किताब जति भिजिहाल्छन् । झोला छैन किताबको गाता पनि छैन । स्कुलबाट दिएको किताबबाहेक एउटा कापी छ विषयगत कापी चाहियो भन्नुहुन्छ सरले त्यसै पनि स्कुल पुग्छु ।’ सात वर्षीया विद्या शाही पनि समस्या उस्तै छ । झोला नहुँदा विद्यालयमा शिक्षकको गाली खानुपर्छ ।

‘स्कुल पढ्न थालेदेखि झोला बोक्न पाएकी छैन । आमाबुबालाई भन्छु पैसा छैन भन्नुहुन्छ, यही प्लाष्टिककै झोलामा किताब बोकेर आउछु,’ नानी तिम्रो झोला छैन ? भन्ने मेरो प्रश्नमा ङिच्च हाँस्दै उनले भनिन् । दैलेखको पश्चिममा पर्ने दैलेखका अन्य स्थानीय तहभन्दा विकट मानिने ठाटीकाँध गाउँपालिकाका अधिकांश विद्यार्थीहरू उचित सामग्री नहुँदा प्लाष्टिकको झोलाको सहारामा अध्ययन गरिरहेका छन् ।

‘घरको आर्थिक अवस्था नाजुक रहेका कारण पढाइ खर्च जुटाउन सक्दैनन् । पढाइ खर्च जुटाउन नसक्दा अध्यन सामग्री जुटाउनकै लागि विद्यालय छोडेर अभिभावकसँगै भारत जान्छन् । कोही पैसा कमाएर घर फर्किन्छन् त कोही उतै विभिन्न सवारीमा चालक सहचालकका रूपमा लाग्छन् । घरको आर्थिक अवस्था कमजोर हुन्छ । साँझ–बिहान खान लगाउनै पुग्दैन । कसरी पढाउने, लेखाउने ?’ ठाटीकाँध–१ का हस्त बिकले भने ।

उनले भारतमा गए कम्तीमा खान लगाउन र बस्न पाइने भएकाले धेरै जसो भारततिरै जाने गरेको सुनाए । बिकले भने, ‘यहीँ शिक्षा पाइरहेका छोराछोरीलाई पढाइ छुटाएर मजदुरीमा लगाउन भारत किन जानुपथ्र्याे र ? यतै बसेर पढ्नलाई उनीहरूलाई पढाउन सके । यहाँ साँझ विहान एक छाक खानलाई त हम्मेहम्मे हुन्छ । छ जना छोराछोरीमध्ये कसलाई राम्ररी पढाउने ?’ (ईकागज)