समाचार

श्री एयरलाइन्सको जहाज धावनमार्गमै चिप्लियो, सबै यात्रु सकुसल

भर्खरै

काठमाडौं । काठमाडौंबाट नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसे मैदानतिर गएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । जहाजमा रहेका सबै यात्रु भने सकुसल रहेका छन् ।

जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘अल्फा नोभेम्बर फोस्टर’ कलसाइन भएको फ्लाइट नम्बर ४२१ जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको छ ।

जहाज धावनमार्गबाट बहिर भएकोले उडान भने सञ्चालन भइरहेको छ । चालक दलसहित ८० जना यात्रु लिएर नेपालगन्ज आउन लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ । यद्यपि जहाजमा कुनै क्षति नपुगेको र पाङ्ग्रा भने ट्याक्सी वेबाट बाहिर गएको विमानस्थल स्रोतले जनाएको छ ।