ईपीएलमा आज लिग चरणको अन्तिम खेल, काठमाडौँ र भैरहवा भिड्दै

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स ११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ ।

यी दुई टोलीको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौँलाई प्ले अफ पुग्नका लागि जित्नुको बिकल्प छैन । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो टोलीले आजको खेलमा जित निकालेमा चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ । हार ब्यहोरेमा काठमाडौं प्रतियोगिताबाटै बाहिरिनेछ र ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ ।

भैरहवा भने काठमाडौँलाई हराएर क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ । भैरहवा यसअघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।