दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप

फाइल तस्वीर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको आइतवार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । यही फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए ।

उनले भने, ‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । क्रमिकरुपमा देशभरी खोप लगाइनेछु ।’

राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए । कार्यक्रमका बीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेसनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।