बाढीका दुःख

बर्दियाको ग्याङ्ग नदीमा पुल नहुँदा विद्यार्थीलाई जोखिम, बेखबर जनप्रतिनिधि

स्थानीयहरु भन्छन्, ‘बर्खायाममा आवतजावत गर्न निकै कठिन हुन्छ । नदीमा बाढी आएको दिन तर्न सकिँदैन । बालबालिकाहरु विद्यालय जानबाट वञ्चित हुन्छन् । यहाँको पीडा कसले बुझिदिने ?’

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरेनी, सतखलुवामा रहेको अमरसहिद दशरथचन्द माध्यमिक विद्यालयमा ४४५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १३४ जना विद्यार्थी नजिकैको गाउँ थुमनी गाउँका छन् भने झण्डै ५० जना विद्यार्थी ढकेला गाउँबाट अध्ययनका लागि उक्त विद्यालयमा पुग्ने गर्छन् ।

गाउँमा माध्यमिक विद्यालय नभएकै कारण उनीहरु कक्षा ६ देखि १० सम्म अध्ययनका लागि अमरसहिद दशरथचन्द माध्यमिक विद्यालयमा पुग्ने गर्छन् । भौगोलिकरुपमा विद्यालय धेरै ढाटा त छैन । तर, सतखलुवा, थुमनी र ढकेला गाउँको बीचमा पर्ने ग्याङ्ग नदीले भौगोलिकरुपमा भने बिकट बनाइदिएको छ ।

नदीमा पानी कम भएको अवस्थामा थुमनी र ढकेला गाउँबाट १५ देखि २० मिनेटमै सतखलुवामा रहेको उक्त विद्यालयमा पुगिन्छ । तर, नदीमा बाढी आएका बेला पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै घुमेर थुमनी र ढकेला गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्ने गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

‘नदीमा पुल नहुँदा निकै समस्या भएको छ । नदीमा बाढी आएको बेला वारपार गर्न नसकेर धेरै पटक विद्यालयमा अनुपस्थित भएको छु । ६ कक्षादेखि यही विद्यालयमा अध्ययन गरे । धेरै पटक दुख पाएको छु । नदीमा पुल बनेको भए यस्तो दुख हुने थिए,’ विद्यालयमा कक्षा–१० मा अध्ययनरत थुमनीका अर्जुन बिकले विगत सम्झिँदै भने ।

उनलाई बाढीमा परेर अकालमा ज्यान जान्छ की भन्ने चिन्ता छ । ‘पुल नहुँदा हामीले धेरै सास्ती पाउनुपरेको छ, विद्यालय आवतजावत गर्न कठिनाइ भइरहेको छ, बाढीले बगाएर अकालमा ज्यान गुमाउनुपर्छ कि भन्ने चिन्ता लाग्छ,’ विद्यार्थी अर्जुनले भने । उनले आफुजस्तै अन्य साथीहरुलाई पनि बर्खाको समयमा विद्यालय छाड्नुपर्ने बाध्यता बताए ।

नदीमा पुल नहुँदा बाढी आएको बेला दुई घण्टा लगाएर घुमेर जाने वा नदीमा पानी कम हुँदासम्म कुर्नुपर्ने बाध्यता छ । कक्षा–९ मा अध्ययनरत संगीता खाँडलाई एक हप्ताअघि मात्रै नदीमा आएको बाढीले बगायो । उनको तत्काल उद्दार गरियो । अहिले उनी सकुशल छन् । गत बर्ष पनि दुई जनालाई बाढीले बगाएको स्थानीयहरु बताउँछन् ।

पुल नहुँदा हरेक हरेक बर्खायाममा बालबालिका जोखिममा पर्ने गरेको विद्यालयका प्राचार्य छविलाल पोखरेल बताउँछन् । उनले भने, ‘म यहाँ आएको दुई महिना मात्रै भएको छ । पुल नहुँदा निकै कठीन रहेछ । विद्यार्थीलाई नियमित खोला वारपार गराउँदै आएका छौं । कहिलेकाहीँ तल्लो भेगमा चर्को घाम लागिरहेको हुन्छ । यसले पनि जोखिम बढाएको छ ।’

चुरेतिर पानी परेपछि कतिबेला बाढी आउँछ भन्ने नै थाहा नहुने पनि प्राचार्य पाखरेलले बताए । उनले भने, ‘यतातिर घाम लागिरहेको हुन्छ । चुरेतिर पानी परेको हामीलाई थाहै हुँदैन । चुरेतिर पानी पर्दा एकैछिनमा बाढी आएको पत्तो नै हुँदैन । यसले गर्दा बालबालिकाहरु निकै जोखिममा छन् । यहाँ तत्काल पुल बनाउन जरुरी छ ।’

नदीमा पुल नहुँदा बालबालिकाहरु जोखिम मोलेरै वारपार गर्दै आएको प्राचार्य पोखरेल बताउँछन् । ‘हिउँदयाममा नदी पार गर्न केही सहजै भए पनि बर्खायाममा भने बालबालिकाले निकै सास्ती खेप्नुपर्छ । ग्याङ्ग नदीमा झोलुङ्गे पुल नहुँदा स्कुले बालबालिकाको पढाई समेत अनियमित हुँदै आएको छ,’ प्राचार्य पोखरेलले भने ।

ग्याङ्ग नदीमा झोलुङ्गे पुल नहुँदा स्कुले बालबालिका मात्रै होइन स्थानीय नागरिकलाई पनि आवातजावतमा समस्या हुने गरेको बताउँछन्, युवा सञ्जाल बाँसगढीका सदस्यसमेत रहेका बास नेपालगन्ज बाँसगढी शाखाका अध्यक्ष राज थारु । उनले भने, ‘बालबालिकाहरुलाई निकै समस्या छ, यहाँ पुल निर्माणको विकल्प नै छैन ।’

बर्खामा बाढी आउँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै स्थानीय चन्दा डाँगीले भनिन्, ‘नदीमा पानी कम भएका बेला तर्न सकिन्छ । बर्खामा भने जोखिम मोलेर खोला तर्नुको विकल्प छैन ।’ त्यस क्षेत्रका जनप्रतिनिधिलाई व्यङ्ग्य गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा बालबालिकाले जोखिम मोलेर नदी तर्दै गरेको फोटो शेयर पनि गरेकी छन् ।

उनले फोटो शेयर गर्दै लेखेकी छन्, ‘जुन ठाँउबाट भोट जितेर आज उच्च पदमा हुनुहुन्छ । आज त्यही ठाउँका विद्यार्थी, बालबालिका र जनताको अवस्था यस्तो छ । यस विषयमा स्थानीय सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।’ ग्याङ्ग नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवतजावत गर्न कठिन हुने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीयहरु भन्छन्, ‘आधारभूत भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिएर काम गर्नुपर्छ । दुवै नगरपालिकाले सबैको पहुँच पुग्ने गरी ग्याङ्ग नदीमा झोलुङ्ग पुल निर्माण गर्नुपर्छ ।’ बयस्क तथा युवाहरुले सहजै नदी वारपार गर्ने गरेको भए पनि बालबालिका र वृद्धवृद्धालाई बर्खाको समयमा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ ।

स्थानीयहरु भन्छन्, ‘बर्खायाममा आवतजावत गर्न निकै कठिन हुन्छ । नदीमा बाढी आएको दिन तर्न सकिँदैन । बालबालिकाहरु विद्यालय जानबाट वञ्चित हुन्छन् । यहाँको पीडा कसले बुझिदिने ?’ हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो नदी तर्न निकै सकस हुने गरेको छ ।

स्थानीयहरुका अनुसार नदीमा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्छ, स–साना बालबालिका तर्न सक्ने अवस्था हुँदैन, जसका कारण बालबालिकाहरुलाई विद्यालय पठाउन गाह्रो हुने छरेको छ । थुम्नी र खैरेनी जोड्ने पुल बनाउन स्थानीय जनप्रतिनिधि, प्रदेश तथा संघीय सांंसदहरुले समेत चासो नदेखाएको त्यस क्षेत्रका नागरिकहरुको गुनासो छ ।

सत्यपाटीले बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु (९८५८०६८३३३) र बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीसँग (९८५८०८१३११) सम्पर्क गर्न खोज्दा दुवैसँग सम्पर्क भएन । साथै झोलुङ्गे पुल निर्माणका लागि त्यस क्षेत्रबाट निर्वाचित संघीय सांसद सञ्जय गौतमसँग स्थानीयले बारम्बार माग गरे पनि यसतर्फ ध्यान नदिँदा समस्या यथावत रहेको स्थानीयहरु बताउँछन् ।

तस्वीरहरु : चन्द्रा डाँगी