बुद्ध एयरका पाइलट शेर्पालाई विमान चलाउन रोक

काठमाडौं । बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ । ७३ यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ । छानबिन अवधिभर विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपालको हवाई क्षेत्रमा विमान र हेलिकप्टरमा समस्या आउन थालेपछि सरकारले छानबिन बढाएको छ । यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो । नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार छानबिन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ ।

त्यसबीच उनले विमान चलाउन पाउनेछैनन् । ११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो । तेल सकिएर विमान अवतरण गर्न खोज्दा अचानक पाङ्ग्रा खुलेको थियो ।