योजना हाल्नु पहिला भुगोल हेर्न गाउँपालिका अध्यक्ष धामीको आग्रह

बझाङ । बझाङको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले प्रदेश, संघ सरकार र गैरसरकारी संस्थाहरुलाई गाउँपालिकाको भुगोल हेरेर योजना तथा बजेट विनियोजन गर्न आग्रह गर्नु भएको छ ।

गाउँपालिकामा योजनाहरु मागको आधारमा नआएर फरक तरिकाले आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विध्यालयमा घेरबारको आवश्यक छ । भवनको योजना हालेको छ ।

त्यसमा पनि जयपृथ्वी नगरपालिकामा २२ लाखको भवन परेको छ । भने साईपाल गाउँपालिकामा पनि २२ लाखको नै भवन भनेर योजना हालेको हुन्छ ।’

जयपृथ्वी नगरपालिकामा यातायातका साधनहरु भएकाले २२ लाखको भवन निर्माण भए पनि साईपाल गाउँपालिकामा २२ लाखले सामान ढुवानी गर्न पनि नपुग्ने अध्यक्ष धामीकोे भनाई छ ।

गाउपालिकामा प्रदेश र संघ सरकारबाट आएका योजनाहरु अन्य स्थानियतहको दाजोमा रहेर सोहि अनुरुपको बजेट विनियोजन समान रुपमा विनियोजन गरेर काम अधुरो रहने गरेको छ ।

प्रदेश र संघ सरकारले भुगोल नहेरी बजेट विनियोजन गर्ने गरेको र अरु स्थानियतहको दाजोमा सदरमुकाम चैनपुरबाट ३ दिन पैदल हिडेर पुगिने साईपाल गाउँपालिकामा पनि अन्य स्थानियतहको रेसियोमा बराबर रकमका योजनाहरु आउने गरेको गाउँपालिका इन्जिनियर तिलक विकले बताउनुभयो । विकले भन्नुभयो, ‘यातायातका साधनहरु नभएकाले ढुवानीमा बढी पैसा खर्च हुने गरेको छ ।

जस्का कारण भवन निर्माण तथा योजना पुरा गर्नको लागी पैसा पुग्दैन् । त्यो काम पुरा गर्नको लागी अर्को बर्षको बजेट कुर्न पर्छ ।’ फेरी अर्को बर्ष त्यो योजनालाई निर्माण सम्पन्न गर्नको लागी बजेट विनियोजन नगरे अघिल्लो बर्ष बनाएको संरचना विग्रने तथा ढुवानी गरेको सामान विग्रेको इन्जिनियर विकको भनाई छ ।

भवन निर्माणको लागी सरिया खरिद गर्दा साईपाल गाउँपालिकाको धुलीमा १६ एमएमको सरियाको ३ सय ५० रुपैयाँ पर्ने र सदरमुकाम चैनपुरबाट धौलन सम्मको सजिलो खच्चडमा बोकाउन मिल्ने सरिया ढुवानीको प्रतिकेजी १ सय ३० रुपैयाँ भाँडा पर्ने गरेको स्थानिय मिलन धामीले बताउनुभयो ।

साईपाल गाउँपालिकामा यसै गरी आएका योजनाहरुको सामान सिमेन्ट सेट हुने, सरिया खिया लाग्ने, भवनका वाल भत्कने भएकाले पुन : पछिल्लो बर्ष खरिद गर्नुपर्ने लगाएतका समस्या रहेका छन् ।