आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । आज शुक्रबार अक्टोबर १ अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरेको छ ।

सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रूपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

यसैबीच नेपाल टेलिकमले आजदेखि आगामी २५ गतेसम्म ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड दिने भएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको हो ।