देउवा नेतृत्वको सरकारले आज पूर्णता पाउला ?

भर्खरै

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार लामो समयपछि आज विस्तार हुने संभावना देखिएको छ ।

देउवा नेतृत्वको संयुक्त सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन सम्वद्ध दलका शीर्षनेताहरु मन्त्रीहरुको नाम छनोट गृहकार्यमा जुटेका छन् ।

आज साँझसम्ममा नयाँ मन्त्रीहरु नियुक्त भइसक्ने संभावना रहेको छ । राजनीतिक दल सम्वन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद विस्तारका लागि शीर्षनेताहरु आन्तरिक गृहकार्य तथा छलफलमा जुटेका हुन ।

नेकपा (एकीकृत समाजवादी) ले सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाएको छ ।

मन्त्रीको लागि पार्टीबाट नाम सिफारिस भएकाहरुमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ रहनु भएको छ ।

तनुहँका साँसद किसानकुमार श्रेष्ठ र अछामका सांसद शेरबहादुर कुँवर भने यस पटक मन्त्रीमा समेट्न नसकिएको उहाँले बताउनुभयो ।

त्यस्तैं, एकीकृत (माओवादी केन्द्र) नेपालले पनि थप तीनजना मन्त्रीको नाम सिफारिसका लागि आन्तरिक गृह कार्य भइरहेको जनाएको छ ।

माओवादी केन्द्रका नेता देबबहादुर गुरुङले मन्त्रीको नाम सिफारिस गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई दिएको बताउनुभयो ।

नेपाली काँग्रेसबाट थप तीनजना मन्त्रीको नाम सिफारिस गर्न प्रधानमन्त्री देउवाले यसअघि नै बरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । तर, काँग्रेसमा पनि मन्त्रीका आकांक्षीहरुको संख्या धेरै भएकाले नाम सिफारिस हुन सकेको छैन ।

त्यस्तैं, जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मन्त्रीहरुको नाम छनोटका लागि आन्तरिक गृह कार्य जारी रहेको जनाएको छ ।

गत असार २९ गते गठित वर्तमान सरकारमा काँग्रेसबाट प्रधानमन्त्री सहित सात, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट ६–६ जना मन्त्री वाँडफाँड गरिएको छ ।

सत्ता गठबन्धनका पाँच दल मध्ये संयुक्त जनमोर्चा नेपाल भने सरकारमा सहभागी नहुने जनाइएको छ ।