पर्यटन समृद्धि

हवाई उडानले भित्र्यायो पर्यटक

बाँके । बुद्ध एयरले नेपालगन्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ । भारतबाट आउने पर्यटक नेपालगन्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए ।

नेपालगन्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

उनले हवाई उडानका कारण नेपालगन्जमा पर्यटकको चहलपहल बढेको बताए । भारतबाट सवारीसाधनको आवागमनमा रोक लगाइएकाले अझै पनि धेरै पर्यटक आउन नसकेको गुनासो गर्दै उक्त रोक हटेपछि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा जानका लागि यहाँ पुग्ने बताए ।

पोखरा पुग्न १२ देखि १५ घण्टाको समय लाग्दै आएकामा हवाई उडानका कारण एक घण्टामै पोखरा पुगिने हुँदा पर्यटकको रोजाइमा पोखरा, नेपालगन्ज र बर्दिया निकुञ्ज परेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उनले नेपालगन्जलाई पर्यटकको प्रवेशद्वार बनाउनका लागि यो हवाई उडान कोसेढुङ्गा साबित भएको बताए ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सक्रिय नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बढीभन्दा बढी पर्यटक तान्न उडानलाई दिगो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । दैनिक उडानले चारैतिर उत्साह थपिएको उनको भनाइ छ । साउन १८ देखि बुद्ध एयरले सुरु गरेको नेपालगञ्ज–पोखरा हवाई उडान हाल दैनिक भइरहेको छ ।

उडानबाट आउनेजाने पर्यटक एवं अन्य यात्रुको सङ्ख्या बढेसँगै बुद्ध एयर पनि उत्साहित बनेको छ । बुद्ध एयरले उडानसँगै टुर प्याकेजसमेत सुरु गरेकाले धेरै पर्यटक आकर्षित भइरहेका छन् । पहिलो चरणमा सातामा तीन उडान सुरु गरेको बुद्ध एयरले पर्यटक बढेपछि अहिले दुवैतर्फका लागि दैनिक एक उडान राखेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयर नेपालगन्जका प्रबन्धक विनित शाहका अनुसार नेपालगन्ज–पोखरा उडानको एकतर्फी भाडा न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ गरी तीन किसिमको छ । विशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको हो ।