सामाजिक सञ्जालमार्फत हुने ठगीबाट बच्न जिल्ला प्रहरी कार्यालयको आग्रह

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नुका साथै भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढिरहेकाले सचेत हुन आह्वान गरेको हो ।

प्रहरीका अनुसार विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै चिठ्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भएकोले भन्दै बैङ्क तथा अनलाईनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न अनुरोध गरेको हो ।

सामाजिक सञ्जाल भाइबर, वाट्सप, इमो लगायतका विभिन्न सामाजिक एपहरूमार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको घटनाहरु आउने गरेकाले अपरिचित व्यक्तिको मेसेज रिप्लाई नगर्न आफुहरुले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फोन वा सामाजिक संजालको दुरुपयोग गरी चिठ्ठा वापतको रकम पठाई दिन्छु भनि व्यक्तिगत बैंक खाता नं. मागी, बैङ्क खातामा प्रयोग गरेको मोबाईल नं. मा प्राप्त भएको ओटिपी कोर्ड मार्फत बैंक खातामा पहुँच बनाई आफ्नो बैंक खातामा रहेको रकम ट्रान्सफर गर्ने गरेको पाएकाले कहि कतैबाट आफुले भर्दै नभरेको चिठ्ठा परेको भनि अपरिचित व्यक्ति वा समुह मार्फत फोन, भिडियो वा अडियोकल प्राप्त भएमा त्यसको विश्वासमा परी आफ्नो कुनै पनि व्यक्तिगत विवरणहरु उपलब्ध नगराउन सबैमा आग्रह गरिएको हो ।’

साथै प्रहरीले विध्यालयमा तथा समुदायमा पनि यसको बारेमा जनचेतना फैलाउदै आएको छ ।