विश्लेषण

योगेश भट्टराईका अनेकौं रुप

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईहरुलाई लक्षित गर्दै नेकपा (एकीकृत समाजवादी) का युवा नेता राजेन्द्र राईले साउन ६ गते फेसबुकमा लेखेका थिए, ‘फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !’

राईले लेखेका थिए, ‘मिल्ने किन ? किनकि, हामी नमिल्दा काँग्रेसले खान्छ, हामीले खान पाउँदैनौं ! एकताको लागि यो भन्दा साझा शर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र ? झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा ! तर, घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ बुझ्न जरुरी छ, झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले–काले मिलेर खाऔँ भाले भनेर गरिने एकता किमार्थ दीगो हुन सम्भव छैन, नैतिक, न्यायोचित त परकै कुरा भयो, यसको मतलब फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !’

राईले यी पंक्ति लेखेको दुई महिना भयो । तर, दुई महिना नबित्दै योगेश भट्टराईको एमाले फिर्ती सवारीपछि पहिलो गाँसमै ढुंगा लागेको छ । शुरुमा उनको प्रवक्ता पद खोसियो । त्यसपछि भीम रावलको सुदूरपश्चिम इञ्चार्ज हुँदै अष्टलक्ष्मी शाक्यको बागमती प्रदेश इञ्चार्जसम्म खोसिएको छ । जिल्ला–जिल्लामा ओलीहरुले बनाएका समानान्तर कमिटीका अध्यक्षहरु कायम रहे, योगेशहरुले माधव समूहमा हुँदा बनाएका समानान्तर कमिटीका अध्यक्षदेखि ०७५ जेठ २ मा अध्यक्ष भएकाहरु बिचल्ली परिरहेका छन् । यसरी ‘खान’, अर्थात् पद प्राप्ति त के, भएकै पद पनि नदिएर उनीहरुलाई बिचल्ली बनाइएको छ ।

मालेको स्थापनाकाल (०३५) देखि एमाले हुँदै अहिले माओवादी केन्द्रमा रहेका नेता अजम्बर काङमाङका अनुसार, पछिल्लो राजनीतिमा योगेश भट्टराईहरु एउटा खास प्रवृत्तिसहित उपस्थित भए । राजेन्द्र राईले भनेजस्तो खाने कुरा (प्राप्ति) लक्षित राजनीति र वाम राजनीतिको मानकलाई क्रमशः बुर्जुवाकरण गर्दै लैजाने कुरालाई योगेशहरुले अहिले ‘मूलमन्त्र’ मानिरहेका छन् । अजम्बर भन्छन्, ‘अहिले उनीहरुमा राजनीतिक–सैद्धान्तिक लोभ हैन, व्यक्तिगत चिन्तामात्रै हो ।’ योगेशहरुले राजनीतिक वैचारिक लडाइँ छैन, सकियो भन्छन् ।

अजम्बरको निचोड छ, ‘गम्भीर त्रुटी त्यहीँ छ । राजनीतिक र वैचारिक लडाइँ छैन भनेपछि त्यहाँभित्र जति हुन्छ, जसरी हुन्छ, आफ््नो भाग पुग्दो खान पाउनुपर्छ भन्ने नै हो ।’ उनी ‘हन्टिङ इन ग्यादरिङ’, अर्थात् सामूहिक शिकार गर्दाको दृष्टान्तबाट योगेशहरुको चरित्र चित्रण गर्छन् । राई भन्छन्, ‘कसैले छेक्दै, कसैले ढुंगामूढा गर्दै, बन्दूकले फायर खोल्दै सामूहिक रुपमा शिकार गरेका हुन्छन् । त्यसो गर्दा सबैमा बिलो (भाग) लाग्छ । मार्नेले छाला र मासु पाउँछ । खेद्नेहरुले मासु–भात पाउँछन् । शिकारमा नगएका छिमेकीले पनि थोरै–थोरै चाट्न पाउँछन् । किनभने, जनावर मार्नु अपराध हुन्छ । त्यो कुरा गाउँलेले पोलिदिए भने सबैलाई दण्ड हुन्छ ।’

उनको निश्कर्ष छ, यो दृष्टान्तभित्र योगेशहरुको अवस्थाचाहिँ छेक्नेमा पनि होइन । शिकार अरुले नै गरे । उनी भन्छन्, ‘तर, योगेशहरु अहिले मेरै गोलीले शिकार मर्यो भन्दै ठूलो भाग दावी गर्दैछन् । त्यो दावीअनुसार भाग दिने कुरा ओलीहरुका तर्फबाट सम्भव छैन । किनभने, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, मुकुन्द न्यौपानेहरु अलग्गिएको एमालेभित्र अब योगेशहरुले कल्पना गरेको विरासत बाँकी रहेन । त्यहाँ जे–जे बाँकी छ, ओली र उनका गुठियारहरुले सामूहिक शिकार गरेर पाएका चिजहरु मात्रै छन् । त्यसमा योगेशहरुलाई भाग लाग्छ वा भाग दिन्छन् भन्नु गजेडी गफमात्रै हो ।’ बरु, पुस ५ मा संसद विघटन गरेपछि ओलीहरुले गरेको सामूहिक शिकारमा रामबहादुर थापा (बादल), लेखराज भट्ट, टोपबहादुर रायमाझीहरु हिस्सेदार हुन पुगे । अवैध नै भए पनि पार्टी संगठनका संरचना, विधान र कार्यदिशा निर्माणमा ओलीलाई बरु बादल–लेखराजहरुले साथ दिए । तर, योगेशहरु ती दिनमा ओलीलाई ‘प्रतिगामी’ भन्नमै व्यस्त भए । लडाइँमा उनलाई हराइहाल्न नसकेपछि ‘त्वम्शरणम्’ भन्दै माधव नेपालहरुलाई छाडिदिए ।

पृष्ठभूमि काँग्रेस, व्यवहार बुर्जुवा

योगेश भट्टराईलाई शुरुदेखि नै चिन्नेहरु भन्छन्, ‘वाल्यकालमा काँग्रेसहरुसँग बाक्लो संगत गरे ।’ ताप्लेजुङस्थित उनको गाउँमा त्यसबेला हाइस्कुल थिएन । त्यसैले संखुवासभा, चैनपुरमा रहेको मावली घरमा बसेर मादीस्थित मादी माध्यमिक विद्यालयमा पढे । त्यसपछि उनी काठमाडौं छिरे । चैनपुरका मावली खलक सुवेदी हुन्, ती सबै काँग्रेस थिए । त्यसैले उनको व्यवहार शुरुदेखि नै ‘काँग्रेस–काँग्रेस’ हुन पुग्यो । काठमाडौं आएपछि ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा भर्ना भए । काठमाडौंमा उनले ०४० सालबाट ‘अखिलयात्रा’ शुरु गरे ।

०४३ को स्थानीय चुनावमा काठमाडौं नगरपञ्चायतका लागि जपक्षीय उम्मेदवारका रुपमा नेकपा (माले)ले खडा गरेका उम्मेदवारहरुको प्रचारमा उनी यसरी लागे कि, उनको खटाईबाट काठमाडौंमा रहेका मालेका सबै नेता प्रभावित भए । त्यसबेला माधवकुमार नेपाल उपत्यकाको जिम्मेवारीमा थिए । उनको कामबाट प्रभावित भएपछि माधव नेपालले नै अगाडि बढाएर उनले अखिलको केन्द्रीय सदस्य हुने मौका पाए । तर, त्यो चुनावपछि उनी जण्डिसले थला परे । निको भएलगत्तै जेल परे । जेलमा केपी ओलीसँग भेट भयो । त्यहाँ पुग्दा फेरि केपी ओलीबाट प्रभावित भए । यसरी खुला राजनीतिमा आएपछि पनि कहिले माधवसँग, कहिले केपीसँग उनको निकटता रहिरह्यो ।

योगेश भट्टराईको विचलनको शुरुवात पुरानै हो । राजनीतिक–वैचारिक जगमा निर्माण हुने वाम राजनीतिभित्र उनैले बाहुबली भित्र्याए । लाभका निम्ति तल झर्नेसम्मका उनका अनेकौँ श्रृंखला छन् । ०४९ को स्ववियु निर्वाचनमा ल क्याम्पसमा गुण्डानाइकेहरु लगाएर हत्याकाण्ड रच्नेदेखि रत्नपार्कस्थित विद्युत प्राधिकरणको भित्ता विवादमा बाबुराम भट्टराई, पम्फा भुषालमाथि सांघातिक हमला गर्नेसम्मका गतिविधिको अगुवाई उनले गरे । अखिल अध्यक्ष हुँदा आर्थिक र चारित्रिक आरोपमा पार्टीले कारवाही गर्नै लागेको थियो । भानुभक्त ढकाल र उनको विवादको शुरुवात त्यही पृष्ठभूमिमा भयो । त्यहाँबाट शुरु भएको झगडा प्रकारान्तरमा महाकाली सन्धीको मतभेद हुँदै ०५४ मा एमाले विभाजन हुने तहमा पुग्यो ।

ओली–योगेश प्रवृत्ति

योगेश भट्टराईमा ओलीको कार्यशैलीगत समानता भेटिन्छ । मौका मिल्दा उनले पार्टी–संगठन हैन, आफ्ना आसेपासेमात्रै बोक्ने कुरा उनले पटक–पटक चरितार्थ गरेका छन् । एमालेको प्रचार विभाग प्रमुख हुँदा उनले विभागमा खासा व्यापारी रमेश बराल, नगरपालिकाका खरदार, वकिलसहित म्यानपावर चलाउने डिमप्रकाश पौडेल (हालः नेवानि महाप्रबन्धक) सम्मलाई भर्ति गरे । पर्यटनमन्त्री भएपछि पनि यस्तो कार्यशैलीलाई जारी नै राखे । उनले ससुराली नाताका मनोहर घिमिरेलाई भ्रमण वर्ष–२०२० मा हर्ताकर्ता बनाए । त्यति मात्र होइन, जिल्लावासी पत्रकार पिताम्बर सिग्देललाई त्यहीँ जागिर खुवाए । यति समूहसँग आर्थिक लाभ लिएर बच्चुनारायण श्रेष्ठलाई त्यसको सदस्य सचिव बनाए ।

होम दोङलाई बौद्धक्षेत्र गुम्बा विकास समितिको अध्यक्ष र कहिल्यै एमाले नरहेका पुलिसका पूर्वअसई प्रल्हाद न्यौपानेलाई तारागाउँ विकास समितिको अध्यक्ष बनाए । डिमप्रकाश पौडेललाई वायुसेवा निगममा सञ्चालक सदस्य हुँदै महाप्रवन्धक बनाइदिए । काँग्रेस पृष्ठभूमिका दोलखाली घनश्याम खतिवडालाई पशुपतिक्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्त गरे । खतिवडा तिनै व्यक्ति हुन्, जो स्व.रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिविरुद्ध काँग्रेससम्बद्ध लेखक–सहित्यकारले चलाएको आन्दोलनमा सक्रिय थिए । कोभिड संक्रमण दर उच्च भएका बेला विभिन्न देशमा गरिएका चार्टर फ्लाइटमा निजी एयरलाइन्ससँग मिलेर मोटो रकम कमिशन खाएर उडान अनुमति दिने काम उनैले गरे । उनीविरुद्ध भ्रमण वर्षका नाममा भएका आर्थिक घोटालाको मुद्दा अख्तियारमा र चार्टड फ्लाइटमा भएको अनियमितताको विषय सम्पत्ति शुद्धिकरणमा दर्ता छ ।

जता गयो त्यतै पहिरो

काठमाडौंको क्षेत्र नं. ६ मा दुईचोटि चुनाव हारेपछि ०७४ को चुनावमा गृहजिल्ला ताप्लेजुङ पुगेर उनले पहिलोपटक चुनाव जिते । तर, पार्टी विभाजनअघि नै उनको राजनीतिमा जिल्लाभित्रै पहिरो गयो । लिम्बू समुदाय र शेर्पा समुदायको बाहुल्यता रहेको ताप्लेजुङमा ०७४ कै चुनावका बेला क्षितिज थेवेसहितका लिम्बू युवाहरु योगेशविरुद्ध लागे । क्षितिज अहिले युवा संघअन्तर्गतको युथफोर्सका अध्यक्ष छन् । योगेशले ताप्लेजुङ जिल्ला ताकेका कारण लिम्बू समुदायको राजनीतिक उपस्थिति संकटमा पर्ने निश्कर्ष निकाल्दै पहिला माधव समूहमैैैैैैैैैैैैैैैैैैैै रहेका डम्मरध्वज तुम्बाहाम्फे ओलीतिर गए ।

यसको खास कारण हो, योगेशको बाटो रोक्नु । किनभने, त्यसबेला योगेशलाई राष्ट्रपति विद्या भण्डारीको दबाबमा ओलीले मन्त्री बनाएका थिए । माधव समूहमा लाग्दा लिम्बूहरुले असहयोग गर्ने र चुनाव हारिने पिरका कारण उनी भित्री रुपमा मन्त्री भएदेखि ओली समूहमा लागिसकेका थिए । पुस ५ गतेको प्रतिगामी कदमपछि घनश्याम भुषालको दबाबमा मात्रै मन्त्री पदबाट राजीनामा दिएका हुन् । त्यसरी योगेश ओली समूहमा लागेकै कारण उनलाई रोक्नका लागि डम्मरध्वज पनि ओलीतिर लागे । तर, युवा क्षितिज थेवे, वृद्ध डम्मरध्वजदेखि तिलकुमार मेयाङ्बोसम्मका लिम्बूहरु फेरि पनि ताप्लेजुङमा योगेशलाई अगाडि सारिए विद्रोह गर्ने चेतावनी दिइरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले भर्खरै छिरिङ शेर्पा अध्यक्ष रहेको जिल्ला कमिटी गठन गरिसकेको छ । उक्त जिल्ला कमिटीले ओली समूह छोडेर आउने लिम्बू समुदायका जुनसुकै नेतालाई पनि आउँदो चुनावमा योगेशविरुद्ध चुनाव लड्नका लागि टिकट दिने घोषणा गरिसकेको छ । त्यहाँ योगेशलाई हराउनका निम्ति एकीकृत समाजवादी, माओवादी केन्द्र, काँग्रेस र जसपाको गठबन्धन बन्ने भएको छ । ताप्लेजुङको स्थिति खस्किएपछि उनले झापा क्षेत्र नं. १ बाट चुनाव लड्ने योजना बनाए । मन्त्री भएको बेलामा ओलीले त्यसका निम्ति सहमति पनि जनाए । त्यसबेला उक्त क्षेत्रका नेता रविन कोइराला माधव समूहमै थिए । तर, पार्टी विभाजनमा रविनले सहभागिता जनाएनन् ।

उनी योगेशलाई झापामा रोक्नकै लागि एमालेमै रहेका छन् । त्यसमाथि ओलीका खास मान्छे मानिने काकडभिट्टाका रामचन्द्र उप्रेती आउने चुनावमा टिकटका बलिया हकदार मानिन्छन् । उनी झापामा सबभन्दा बढी सदस्य रहेको नेपाल बौद्धिक सहकारी संस्थाका अध्यक्ष पनि हुन् । त्यसमाथि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मादेखि माओवादी नेता राम कार्कीको निर्वाचन क्षेत्र त्यही हो । यसरी ताप्लेजुङबाट झापा झर्न खोज्दा पनि समस्यामा परेका योगेशका निम्ति काठमाडौंको बाटो यसै पनि बन्द भइसकेको छ । किनभने, क्षेत्र नं. ६ बाट दुईचोटि हारिसकेका व्यक्ति हुन् उनी । फेरि पनि उनले जित्ने सम्भावना छैन ।

कथंकदाचित उनी काठमाडौंमा चुनाव लड्न भनेर फर्किए भने उनलाई हराउनका निम्ति केशव स्थापितहरु तम्तयार भएर बसेका छन् । किनभने, ०७४ मा केशव स्थापितले पाइसकेको महानगरपालिका मेयरको टिकट योगेशकै प्रतिवादका कारण खोसिएको थियो । योगेशले केशवको टिकट खोस्ने भूमिका खेल्नुको पृष्ठभूमिचाहिँ ०७० को चुनावमा उनलाई हराउन केशव उम्मेदवार बन्नु नै थियो । फेरि पनि नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा गैरनेवार समुदाय, त्यसमाथि उपत्यका बाहिरको बासिन्दालाई उम्मेदवार बनाइए विद्रोह हुने निश्चित छ । योगेशलाई परेको यो आपतलाई हेर्दा राजेन्द्र राईकै कुरा चरितार्थ हुन्छ, ‘फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !’ (दृष्टिन्यूज)