वृहत् कार्यकर्ता भेला

माधव र प्रचण्डले ‘शेरबहादुरवाद’ लेखे हुन्छ : ओली

परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझाव दिनुभएको छ ।

नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नुपर्नेमा अझै मार्क्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन् ।’

अध्यक्ष ओलीले माधव नेपाललाई केही समयमै दुई/चार जना लिएर कसैको दैलोमा जाने बताउनुभयो । ओलीले भन्नुभयो, ‘पार्टीलाई गलत ढङ्गले कब्जा गर्ने प्रयास भएको थियो ।

कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए । नदीको छालले फोहरमैलालाई किनारामा पुर्‍याए जसरी किनारामा पुर्‍याइदिए ।’ अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गर्नुभयो ।

‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किँदैन’, उहाँले भन्नुभयाे ।

ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गर्नुभयो । ‘प्रचण्डले कहिलेकाहीँ राम्रो कुरा गर्छन् । ‘अस्ति कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्’, ओलीले भन्नुभयो, ‘धेरै भाग खान हिँडेका थिए । अब सकिन्छन् ।’

ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताउनुभयो । ‘यिनीहरूले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्’, ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताउनुभयो ।