समृद्धिका कुरा

दुई वर्षदेखि पूर्वाधार विकास कार्यालय हाँकेका ‘इन्जिनियर रुपबहादुर’

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्ला २०७५ साल पुस महिनाको १५ गते जिल्लामा कार्यालय स्थापना भएको थियो । सो आर्थिक वर्ष कार्यालय सञ्चालन तथा व्यवस्थापनमै सीमित भयो । कार्यालयबाट हुने विकास निर्माणदेखि अन्य काम अघि बढ्न सकेनन् । २०७६ सालमा सो कार्यालयमा निमित्त कार्यालय प्रमुख भएर इन्जिनियर रुपबहादुर रावल आएदेखि कार्यालयले विकास निर्माणदेखि अन्य अलपत्र परियोजनालाई तीब्र गतिमा अघि बढाउन कार्यकालमा कार्यरत कर्मचारीदेखि आफु सक्रिय भएर लागे ।

बितेको दुई आर्थिक वर्षबाट पूर्वाधार विकास कार्यालय जुम्लाले विकासे योजनामा निकै फड्को मारेको छ । कर्णाली प्रदेशका दशवटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएका छन् । गएको आर्थिक वर्षमा १० वटै जिल्लामध्ये कार्य सम्पादन र कार्यालयको कार्य प्रगतिको हिसाबले पूर्वाधार विकास कार्यालय जुम्ला उत्कृष्ट हुन सफल भएको कार्यालय प्रमुख इन्जिनियर रुपबहादुरले बताए ।

इन्जिनियर रावलले भने, ‘हालसम्म जिल्लामा १३७ किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाएका छौं । आर्थिक बर्ष २०७६/०७७ बाट कार्यालयको काम तिब्र गतिमा अघि बढेको छ । सोही आर्थिक बर्षबाट जिल्लाभर ६१ किलोमिटर नयाँ ट्रयाक सडक खुलाएका छौं । आव.२०७७/०७८ मा पनि जिल्लाभर ७६.५ किलोमिटर नयाँ सडक ट्रयाक गरि जम्मा १३७ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेका छौं ।’

उनका अनुसार सडक स्तरोन्नति चौडा र रिटेनिङ्ग वाल ५६ किलोमिटर, सडकको पक्की नाला निर्माण १९ किलोमिटर, ग्रावेल सडक ११ किलोमिटर र ढलान सडक १.३५ किलोमिटर निर्माण सम्पन्न भएको छ । जिल्लाको हिमा गाउँपालिकाको चिउडी र मसानटाडामा दुई वटा झोलुंगे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

तिला गाउँपालिकाको त्रिवेणीमा साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल निर्माण सम्पन्न भई संचालनमा आएको र चन्दननाथ नगरपालिकास्थित दानसाँघुमा गुठीचौर गाउँपालिका हुँदै डोल्पा जोड्ने पक्की पुल निर्माण भई संचालनमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा २५० जनता आवसको घर निर्माण सम्पन्न भई भुक्तानी दिन बाँकी रहेको कार्यालय प्रमुख एवं इन्जिनियर रावलले बताए ।

आर्थिक बर्ष २०७८/०८९ मा पूर्वाधार विकास कार्यालयले गर्ने कार्य योजना पनि प्रस्तुत गरेको छ । जसमा, जुम्ला उर्थु खाली बुलबुले मुगु सडक पहिलो फेजको सम्पूर्ण कार्य सम्पन्न गरी दोस्रो फेजको काम अन्तिम चरणको खरिद प्रक्रिया गरी पटमारादेखी न्याउरीघाटसम्म सडक ग्रावेल र आवश्यक स्थानमा टेवा पर्खाल तथा ढलान गरिने, जलजला छालाचौर गोठीज्युला कालाकाँडा हुँदै मुगु खप्तड जोड्ने सडक निर्माण गरिने पनि कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, गोठीज्युलाबाट कालाकाँडासम्म बहुवर्षिया योजनामार्फत २० करोडको योजना कार्यान्वयन हुने, भैसेडीमा पक्की पुलको खरिद प्रक्रिया शुरु गरी निर्माणको थालनी, अन्य दुईवटा पक्की पुल बहुबर्षिया स्वीकृत योजना भएको खण्डमा निर्माणको थालनी हुने र राजमार्गदेखि कनकासुन्दरी मन्दिर जोड्ने पर्यटकीय झोलेङ्गे पुल निर्माण प्रक्रिया शुरु हुने कार्यालय प्रमुख एवं इन्जिनियर रावलले बताए ।

निर्माण हुन नसकेका पक्की पुल निर्माण

साविकको जिविस र प्राविधिक कार्यालय जुम्लाबाट निर्माण सम्पन्न हुने पक्की पुल एक दशकदेखि अलपल अवस्थामा रहेको दानसाँघु हुँदै डोल्पा जोड्न पक्की पुल पूर्वाधार विकास कार्यालय प्रमुखको जिम्मेवारी पाएदेखि इन्जिनियर रावलकै प्रयासपछि पुल निर्माण भई सञ्चालनमा आएको छ । पुल निर्माणपछि जुम्ला सदरमुकाम खलङ्गा बजारबाट डोल्पा चल्ने सवारीसाधन तथा स्थानीयलाई निकै राहत मिलेको स्थानीयवासी दिपक बोहोराले बताए ।

जिल्लाको तिला गाउँपालिकास्थित त्रिवेणीबाट छिमेकी जिल्ला जाजरकोट जोड्ने पकी पुल पनि निर्माण सम्पन भई सञ्चालनमा आएको छ । सोही पुलबाट अहिले तातोपानी गाउँपालिका–७ का स्थानीयलाई आवतजावत गर्ने सहज भएको स्थानीय तिलक रावतले बताए । आव. २०७७÷०७८ मा कार्यालमा ५० करोड विनियोजन बजेटमध्ये ४५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

लाखौं रकम घर भाडा तिर्दै आएको पूर्वाधार विकास कार्यालय अहिले जिल्ला समन्वय समितिको अतिथि गृहमा सरेको छ । जसका कारण विगतमा घर भाडाबापत खर्च हुँदै आएको लाखौं रुपैयाँ बचेको छ भने सरकारी सम्पत्तिको संरक्षणसमेत भएको छ । पहिला सो घर पुरै शौचालयमा परिमाण भएको थियो । कार्यालय प्रमुख रावलको पहलमा शौचालयमा परिणत भएको जिल्ला समन्वय समितिको अतिथि गृहलाई अहिले कार्यालयका रुपमा सञ्चालन गरिएको छ ।