सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुने भएकी छन् । यसबाहेक अन्य देशमा पनि परराष्ट्र मन्त्रालयका कर्मचारी भएका कारण नियुक्त भएकाबाहेक सबै राजदूत फिर्ता हुने छन् । कर्मचारीबाट सिफारिस भई कार्यक्षेत्रमा खटेकाहरू भने सम्बन्धित देशमा नै कार्यरत रहने छन् ।