संखुवासभा हत्याकाण्ड : पक्राउ परेका थप चारजना सार्वजनिक

संखुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । पक्राउ परेका थप चार जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले आजै सार्वजनीक गरेको छ ।

प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटना स्थल पुगेको थियो । लोकबहादुरको बयानका आधारमा थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् । घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।