स्थानिय तहको सामाजिक सुरक्षा भत्ता वितरण : नामावली किर्ते देखी दोहोरो वितरण

बाल पोषण भत्ता पाउनेको विवरणमा किर्ते नामावली

बझाङ । बझाङका ४ वटा स्थानियतहले सामाजिक सुरक्षा भत्ता वितरणमा लाप्रवाही गरेको पाइएको छ ।

जसमा बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको नामावली किर्ते तथा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ भने, दुर्गाथलीले, साईपाल र छविसपाथिभेरा गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता दोहोरो वितरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख भएको छ ।

बुंगल नागरपालिका
बुंगल नगरपालिकामा बाल पोषण भत्ता पाउनेको विवरणमा किर्ते नामावली गरेको देखिएको छ ।

महालेखाले परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको २०७६÷०७७ को ५८ औ बार्षिक प्रतिवेदनमा बुंगल नगरपालिका – ४ ले वितरण गरेको सामाजिक सुरक्षा भत्तामा प्रिन्टेड नामावलीमा हातले थप गरी बाल पोषण भत्ता वितरण गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार बाल पोषण भत्ता पाउनेको नामावलीमा मुना कुमारी ताम्राकार, सुस्मा कुँवर, सुदिप कुँवर, सुदिप कुँवर, प्रतिक कुँवर, जगदीस कुँवर र सुसान्त कार्की गरी ६ जनाको बाल पोषण भत्ता पाउनेको विवरणमा किर्ते नामावली देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिव्यक्ति १६ सयको दरले वितरण गरेको उक्त पोषण भत्ता सबै गरी ९ हजार ६ सय रुपैयाँ वितरण गरेको पाहिएको छ । उक्त नामावलीको छानविन गरी वडा सचिवबाट बढी भुक्तानी गरेको रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरी बुंगल नगरपालिकाले सामाजिक सुरक्षा भत्ता दोहोरो भुक्तिानी समेत गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सामाजिक सुरक्षा भत्ता पाउनेको नाम, जन्ममिती, नागरिकता नम्बर र समान पहिचान भएका ३ जना व्यक्तिहरुलाई भुक्तानी भएको देखिएको छ ।

दोहोरो भुक्तानी पाउनेमा वडा नम्बर ९ का आयुष जोशीले १ हजार ६ सय, वडानम्बर १ की कलासी देवी बोहराले ४ हजार र वडानम्बर ५ की धना बोहोराले ४ हजार गरी ९ हजार ६ सय रुपैयाँ भुक्तानी लिएका छन् ।

दुर्गाथली गाउँपालिका
दुर्गाथली गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को पेश्की फछ्र्योटमा पेश हुन आएको विल भपाई अनुसार नाम, जन्ममिती, नागरिकता नम्बर लगाएत सबै समान पहिचान भएका २४ जनालाई दोहोरो सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाहिएको छ ।

गाउँपालिकाको वडानम्बर ७ का ११ जनालाई २४ हजार ८ सय, वडानम्बर ६ का ८ जनालाई १२ हजार ८ सय र वडानम्बर ५ का ५ जनालाई ८ हजार गरी जम्मा ४५ हजार ६ सय रुपैयाँ दोहोरो भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

साईपाल गाउँपालिका
साईपाल गाउँपालिका – ३ मा ४ जनालाई दलित पोषण भत्ता दोहोरो भुक्तानी दिएको र सोहि वडाका सिंग बोहराको नामको सामाजिक सुरक्षा भत्ता बाफतको रकम खर्च गरेको देखाएको तर हस्ताक्षर नगरेको पाहिएको छ ।

दोहोरो भुक्तानी दिएको दलित पोषण भत्ता र सामाजिक सुरक्षा भत्ता गरी १७ हजार ६ सय रुपैयाँ खर्च भएको र सो रकम असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

छविसपाथिभेरा गाउँपालिका
छविसपाथिभेरा गाउँपालिकाले वडानम्बर ३ मा ३ जनालाई जेष्ठ नागरीक र बालपोषण भत्ता गरी ३१ हजार ३ सय वडानम्बर ४ मा ३ जनालाई ३० हजार ४ सय, वडानम्बर ७ मा ३ जनालाई बाल पोषण भत्ता बाफतको १४ हजार ४ सय र वडानम्बर ५ मा ३ जनालाई बाल पोषण भत्ता र पुर्ण अपाङ्गता बाफतको भत्ता १६ हजार गरी ९२ हजार दोहोरो भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चार वटै स्थानियतह बुंगल नगरपालिका, दुर्गाथली,साइपाल र छविसपाथिभेरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा दोहोरो वितरण र किर्ते नामावली राखेर बालपोषण भत्ता वितरण गरेकोमा चारवटै स्थानियतहको गरी जम्मा १ लाख ७४ हजार ४ सय रुपैयाँ खर्च भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा निर्देशिकाको आंशिक रुपमा मात्रै पालना गरिएकोले आगामी दिनमा कार्यविधीमा उललेख गरिएका प्रावधानहरु पुर्णरुपमा पालना गरी सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित गर्नु पर्ने र दोहोरो वितरण गरेको रकम र किर्ते नामावली हालेर भुक्तानी गरेको रकम असुल गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।