कर्णालीमा खाद्यान्न उत्पादन बढ्यो : राष्ट्र बैंक

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यान्न उत्पादन बढेको छ। तरकारीको उत्पादन भने घटेको छ।

नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷७८ का अनुसार कर्णालीमा खाद्यान्न उत्पादन बढेको हो। उक्त प्रतिवेदनअनुसार खाद्य बालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशतले बढेर उत्पादनसमेत ६.५२ प्रतिशतले वृद्धि भएको छ।

यहाँ धान र मकैको उत्पादन क्रमशः ३.८१ र ७.४५ प्रतिशतले बढेको छ। तरकारीको उत्पादन भने २.२६ प्रतिशतले घटेको प्रतिवेदनले औंल्याएको छ। गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो। तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र हुम्लामा सबैभन्दा कम भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार कर्णालीमा पशुजन्य उत्पादन अण्डा, मासु, माछाको पनि उत्पादन बढेको छ। दुग्धजन्य उत्पादन भने ०.६९ ले कमी आएको छ। कोरोना महामारीबाट सिर्जित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दूधजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनले निष्कर्ष निकालेको छ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले आर्थिक वर्ष २०७६÷७७ को चैतदेखि २०७८÷७९ को भदौसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको बताए।

राष्ट्र बैंकले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको निष्कर्ष निकालेको छ। यहाँ पर्यटक आवागमनको संख्या ९४.९६ प्रतिशतले घटेको छ। पर्यटकस्तरीय होटल तथा लजको संख्या ६.४३ प्रतिशतले घटे पनि होटलका बेड संख्या भने १२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयले गरेको समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन र राजस्वमा उल्लेख्य वृद्धि भएको छ। रजिष्ट्रेसन संख्या ५७ प्रतिशत र राजस्व १६२ प्रतिशतले वृद्धि भएको हो।

सरकारी सामुदायिक चिकित्सकको संख्यामा २९।७३ प्रतिशतले वृद्धि भएको छ। सरकारी विद्यालयको संख्या ०.९४ प्रतिशतले घटेको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक कर्जातर्फ कुल कर्जाको १५.७० र कृषि प्रवाहतर्फ ७.७४ प्रतिशत कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगको संख्या १७ हजार ६३ रहेको छ। प्रदेशमा वाणिज्य बैंकका १९०, विकास बैंकका १७, वित्त कम्पनी चार, लघुवित्त विकास बैंक १९५ गरी ४०६ शाखा छन्। तीमध्ये सबैभन्दा बढी सुर्खेतमा १३२ र मुगुमा १० शाखा छन्।

प्रदेशमा राजमार्ग र सहायकमार्ग गरी दुई हजार ७२५ किमि सडक सञ्जाल, सात विमानस्थल चालू अवस्थामा र यहाँबाट उत्पादित सात मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ।