हुम्लाकाे लाप्चामा सीमा अध्ययन टोली

हुम्ला । नेपाल–चीन सीमामा पर्ने हुम्लास्थित सीमास्तम्भहरुको अध्ययन समितिको टोली लिमीको लाप्चा पुगेको छ । टोली सिमकोटबाट गाडीबाट लाप्चा पुगेको हो।

लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमास्तम्भहरुको स्थलगत अध्ययन गर्नेछ। टोलीको नेतृत्व सरकारले गठन गरेको अध्ययन टोलीका संयोजक जयनारायण आचार्यले गरेका छन्।

चीनले लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको छ। जुन संरचना नेपाली भूमिमा निर्माण गरिएको भन्दै विरोध हुँदै आएको छ।

त्यसैगरी लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको भनिएको छ। टोलीले त्यसको पनि अध्ययन गर्ने बुझिएको छ। सोही स्थानमा टोली पहिला पुग्ने संयोजक आचार्यले जानकारी दिए।

उनका अनुसार टोलीले लिमीका स्थानीयसँग प्रत्यक्ष छलफल गर्नेछ। स्थानीयसँगको छलफलपछि टोलीले पाँच हजार दुई सय मिटर अग्लो स्थानमा रहेको टाकुलेको ११ नम्बर पिलरको अवलोकन गर्ने बुझिएको छ।

टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमास्तम्भसम्म पुग्ने लक्ष्य लिएको जनाइएको छ। तर भूगोलका दृष्टिले सबै सीमास्तम्भसम्म पुग्न टोलीलाई त्यति सहज भने छैन।

टोलीमा आचार्यसँगै उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन्।

टोलीले नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाहेक अन्य कसैलाई पनि साथमा लगेको छैन। न्यौपानेले टोलीलाई अध्ययनका लागि पुग्नुपर्ने स्थानको सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन । सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन्।

नाम्खा– ५ कै यारीभित्रको ह्याङ्सी क्षेत्रको याङ्जो भज्याङमा ३ नम्बर सीमास्तम्म रहेको छ। सोही क्षेत्रको नुमुच्चैमा ४ नम्बर सीमास्तम्भ छ।

यी दुइटै सीमास्तम्भमा यसैवर्ष पहिलोपटक सीमा सुरक्षा चौकी हिल्साको टोली र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डीएसपी गेहेन्द्र भण्डारीको टोली पुग्न सफल भएको थियो।