परदेशी जीवन : ‘दशैँमा घर फर्किन्छु भनेका गणेशको अस्तु आइपुग्यो’

काठमाडौं । सदाझैँ शनिबार बिहान पनि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि ठूलै भिड थियो । अन्तर्राष्ट्रिय विमानस्थल यस्तो संगमस्थल हो, जहाँ वर्षौं छुटेका आफन्तको मिलन र अब वर्षौं छुटिनुपर्नेहरूको कथा एकैपटक देखिन्छ ।

एकातिर मलिन अनुहार, रसाएका आँखाको आँसु पुछ्दै, फिक्का हाँसोका साथ बिदाइका हात हल्लाइरहेकाको भिड, अर्कातिर वर्षौं छुटिएका आफन्त नेपाल फर्कंदा खुसी । विमानस्थलमा देखिने यस्तो दृश्य नौलो भने होइन । तर, त्यही माझमा अलि फरक दृश्य पनि थियो ।

रातो रङको कुर्ता सुरुवाल, मुखमा मास्क, मलिन अनुहार, आँखाबाट झरेका आँसु रुमालले पुछ्दै अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि बसिरहेकी थिइन् राधा ज्ञवाली । उनका ती भिजेका आँखाले विमानस्थलको कार्गो फलामको ठूलो गेटतर्फ हेरिरहन्थ्यो ।

सामान्यतया कार्गोबाट सामान आउने गर्दछ । तर, उनी सामानको पर्खाइमा थिइनन् । विदेशमा अस्ताएका आफ्ना श्रीमानको अस्तु पर्खिरहेकी थिइन् । मलेसियामा ४० वर्षीय श्रीमानको मृत्यु भएपछि अस्तु लिनका लागि रुपन्देहीबाट आएकी हुन् ।

उनको साथमा २३ वर्षीया छोरी आएकी थिइन् । आठ वर्षदेखि विदेशिएका श्रीमान नेपाल आउने आशामा बसेकी ज्ञवालीले जिउँदो शरीरलाई स्वागत गर्न पाइनन् । ‘दशैँमा घर आउँछु भन्नुभएको थियो,’ गहभरी आँसु पार्दै श्रीमतीले भनिन्, ‘दशैँ आउनुअघि अस्तु आइपुग्यो ।’

परिवारको आर्थिक अवस्था सुदृढ गर्न र छोराछोरीको उज्ज्वल भविष्यका लागि गणेश ज्ञवाली ०७० मा रोजगारी खोज्दै मलेसिया गएका थिए । गणेशले त्यहाँको एक कम्पनीमा काम गर्दथे । रेष्टुरेन्टसमेत चलाएका थिए ।

कमाई पनि राम्रै थियो । करिब डेढ महिनाअघि गणेशलाई कोरोना पोजेटिभ देखियो । तर, उनले घरमा भनेका थिएनन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनले छोरी निकितालाई फोन गरेर आफूलाई कारोना लागेर निको भएको सुनाएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ आएको केही दिनमा सास फेर्न गाह्रो भएर उनी अस्पताल गएका थिए । ‘अस्पतालमै मृत्यु भएको खबर आयो । १५ दिन अगाडि नै मृत्यु भएको खबर पायौँ,’ छोरी निकिताले भनिन् ।

कोरोनाले मृत्यु भएकाको शव ल्याउन नमिल्ने भएपछि अस्तु भए पनि आफ्नै हातले सेलाउनका लागि नेपाल मगाएको निकिताले बताइन् । ‘बुबाको साथमा बस्न त पाइएन लाश पनि ल्याउन पाइएन, सानो बाकसमा आएको अस्तु भने पनि बुबाको अन्तिम संस्कार गर्न मगाएका हौं’, उनले भनिन् ।

‘हामीलाई अभिभावकत्व दिने आमा हुनुहुन्छ । तर, आमाको दुःखमा साथ दिने बुबा अब यो संसारमा हुनुहुन्न,’ छोरी निकिताले भनिन्, ‘मेरो आमा यो दुनियाँकै अभागी हुनुहुँदो रहेछ । जसले श्रीमानको लाशसमेत देख्न पाउनुभएन ।’

छोरीले बोलेको कुरा सुनिरहेकी राधाले आँसुको धारा बगाइन् । तर, ती आँसु पुछिदिने उनका श्रीमान अस्तु बनेर एउटा बन्द प्लाष्टिकभित्र सीमित थिए । गणेशजस्तै मलेसियाबाट ११ वटा अस्तु र ६ वटा शव नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार शनिबार बिहान ती शव नेपाल आइपुगेका हुन् । ल्याइएका शवहरू सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वत जिल्लाका रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।