साक्षरता दिवस : बाँकेको नरैनापुरलाई आगामी मंसिरमा साक्षर घोषणा गरिने

उत्कृष्ट विद्यालय र शिक्षक सम्मानित

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई आगामी मंसिर मसान्तसम्म साक्षर गाउँपालिका घोषणा गरिने भएको छ ।

नरैनापुर शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा बुधबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष दलबहादुर बस्नेतले बताएका हुन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका ४ विद्यालयलाई र नरैनापुर गाउँपालिकाका प्रध्यानाध्यापक, शिक्षक र कर्मचारीलाई समेत पुरस्कृत गरिएको छ ।

नरैनापुर गाउँपालिकाका माध्यमिक विद्यालयतर्फ श्री जयकिसान मावि भोजपुर, आधारभूत विद्यालयतर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनी र नमुना प्राथमिक विद्यालय मोतिपुर तथा सोनवर्षाको मदरसा गरि ४ वटा विद्यालय उत्कृष्ट विद्यालय घोषित भएका छन् ।

उत्कृष्ट विद्यालयहरुले २० हजार, उत्कृष्ट प्रध्यानाध्यापक, शिक्षक र कर्मचारीलाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

यस्तै दिवसकै अवसरमा विद्यालय कार्यक्षेत्रका साक्षर तथा जानकारले एक जना साक्षर बनाए बापत प्रतिब्यक्ति २ सय रुपैयाँ प्रोत्साहन शुल्क सम्बन्धित विद्यालय, शिक्षक र कर्मचारीहरुलाई समेत प्रदान गरिएको छ ।

गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाह, विशिष्ट अतिथि जयकिसान माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष वृजेन्द्र कुमार यादव, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेत र शिक्षा शाखा प्रमुख थारुले उत्कृष्ट विद्यालय, शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।