स्तरोन्नति हुँदै नेपालगन्ज–गुलरिया सडक

फाइल तस्वीर

बाँके । बाँकेको नेपालगन्जदेखि बर्दियाको सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडक स्तरोन्नति गरिने भएको छ । यो सडक हाल ठाउँठाउँमा जीर्ण रहेको छ । एक लेनको सडक फराकिलो बनाउन लागिएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।

सडक स्तरोन्नतिका लागि पहिलो चरणमा नेपालगन्जदेखि बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्मको डीपीआरको काम चलिरहेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए ।

‘डीपीआरको प्रतिवेदन प्राप्त भइसकेको छैन,’ एसीले भने, ‘तर यो सडकको स्तरोन्नति हुने निश्चित भएको छ ।’ हाल बाँकेको खजुरा बजार र बर्दियाको गुलरियामा चार लेन सडक निर्माणको काम भइरहेको छ ।

सडक स्तरोन्नति हुँदा सहर उन्मुख क्षेत्रमा चार लेन तथा अन्य क्षेत्रमा डेडिकेटेड दुई लेनको सडक निर्माण हुँदा सहज हुने डिभिजन कार्यालयले जनाएको छ । स्थानीयको आवश्यकता अनुसार सडक विस्तारसँगै स्तरोन्नति हुनेछ ।

डीपीआरका लागि सर्भेको काम सम्पन्न भइसकेका कारण त्यसको अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्रै चार लेन वा दुई लेन कसरी सडक विस्तार गर्ने भन्ने यकिन हुने कार्यालय प्रमुख एसीले बताए । नेपालगन्ज–गुलरिया सडकखण्ड करिब ४१ किलोमिटर लामो छ ।

बाँकेको खजुराका सामाजिक अगुवा सतिश निरौलाले नेपालगन्ज–गुलरिया सडक स्तरोन्नति आवश्यक रहेको भन्दै छिटोभन्दा छिटो निर्माण सुरु हुनुपर्ने बताए । खजुरा र गुलरियामा चार लेन सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै उनले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न माग गरे ।