जनतालाई आधारभूत सेवा वडापालिकाको मुख्य एजेन्डा : वडाध्यक्ष बुढाथोकी

पालिकामा चौतर्फी विकासका लागि वडापालिकाको पनि उत्तिकै साथ, सहयोग, सहकार्य, समन्वय र साझेदारी आवश्यक छ ।

संघीय शासन प्रणालीमा स्थानीय तहभित्र जनताको सबैभन्दा नजिकको सरकार भनेको वडा पालिका नै हो । जनताको घरदैलोमै सेवा सुविधा पुर्याउने, गुनासो सुन्ने, दुःखसुखमा साथ दिने नजिकको पहिलो निकाय भएकोले वडा पालिकाहरुको भूमिका र सक्रियता अत्यन्तै महत्वपूर्ण छ ।

त्यसैले जुनसुकै गाउँपालिका होस्, उसले एक्लैले चाहेर विकास र परिवर्तन सम्भव छैन । पालिकामा चौतर्फी विकासका लागि वडापालिकाको पनि उत्तिकै साथ, सहयोग, सहकार्य, समन्वय र साझेदारी आवश्यक छ । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सडक बिस्तार लगायत जनताको आधारभूत सेवा सुविधाहरु वडापालिकाको मुख्य एजेन्डा हो ।

दुई दशकपछि अस्तित्वमा आएको स्थानीय तह अन्तरगत गाउँ तथा वडापालिकाले सक्रिय एवं ईमान्दार भई काम गर्ने हो गाउँबस्तीको मुहार फेरिन समय लाग्दैन । तत्कालिन गाउँ विकास समितिको भौगोलिक एवं जनसाँख्यिक संरचनाजस्तै रहेका गाउँ तथा वडापालिकाले परिवर्तन र विकासको स्पष्ट खाका कोरेर अघि बढ्ने हो भने गाउँबस्तीको मुहार फेरिन कठीन छैन ।

डुडुवा गाउँपालिका वडा नं. ५ पनि वडागत भौगोलिक अवस्थिति, भेषभुषा, संस्कृति, समुदायगत पहिचान लगायतका क्षेत्रमा आवश्यकता अनुसार नीति, योजना र एजेन्डाहरुलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ । यीनै विषयमा केन्द्रीत रहेर डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीसँग संक्षेपमा गरिएको कुराकानी :


वडाध्यक्षका रुपमा जननिर्वाचित भएदेखि हालसम्मको अनुभव के रह्यो ?

राजनीति भनेको व्यस्तता हो । २०५४ सालदेखि राजनीति गर्दै तत्कालिन गाउँ विकास समितिको उपाध्यक्षको पद सकिएपछि झनै व्यस्तता बढेको महसुस हुन्छ । राजनीति अहिले यस्तो रहेछ, ‘कि निल्नु न ओक्ल्नु ।’ तर राजनीतिको नशाले अन्य सबै कुराहरुलाई भुलाउँछ । पहिले पनि व्यस्तै हुन्थ्ये, अहिले पनि व्यस्तता त्यस्तै हुन्छ ।

तर जननिर्वाचित भएर वडाध्यक्षका रुपमा आइसकेपछिको व्यस्तता बढेको महसुस हुन्छ । बिहान ६ बजेदेखि नै मोबाइलमा घण्टी बज्न शुरु भइहाल्छ । वडाध्यक्ष नभएको भए फोन नै आउँदैनथ्यो होला, अहिले जनताका काममा धेरै खटिनुपर्छ । कहिलेकाहिँ अध्यक्ष नभएको नै राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

निर्वाचित भएपछि अब त झन् बढि भारी बोक्नुपर्ने अवस्था आएको छ । वडाध्यक्ष हुनु अघि जतिबेला जहाँ गए नि हुने तर वडाध्यक्ष भएपछि जनताको कामका लागि उही सरकारी कर्मचारीजस्तै कार्यालय समयसम्म बस्नैपर्छ । काम त अन्य समयमा पनि हेर्नुपर्ने बाध्यता र कार्यालयमा कार्यालय समयसम्म बस्नुपर्ने व्यस्तता छ ।

पहिले र जनप्रतिनिधि भएपछिको व्यस्ततामा के फरक छ ?

पहिले जतिबेला फुर्सद मिल्यो त्यो बेला मिलाएर गर्नुपर्ने हुन्थ्यो, अहिले त्यस्तो छैन । अहिले कुनै पनि काममा पूर्ण जिम्मेवारी निभाउनुपर्ने भएको छ । कार्यालयमा जनता समयमै पुग्छन् भन्ने कुराले आफुलाई पनि कार्यालयमा समयमै पुग्नुपर्ने भएको छ ।

जनताका गुनासाहरु बढि आउँछन् र सुन्नुपरेको छ । अहिले जनप्रतिनिधिको हैसियतले बस्नुपर्छ । जनप्रनिधि नहुँदाको समयमा पार्टी, संगठन बिस्तारमा ध्यान जान्थ्यो । त्यतिबेला आज नगर भोलि गए पनि हुने, नगए पनि हुने थियो । आएको जिम्मेवारी उतिखेर नै गर्नुपर्ने अवस्थाका कारण अहिले जिम्मेवारी बढेको छ ।

वडामा के कस्ता समस्याहरु आउँछन् ?

समस्याको त के कुरा गरौं । थरिथरिका समस्या आउँछन् । झैझडा, जग्गा, जमिन, विवाद, सरकारी कार्यालयमा परेको मुद्दा, अन्य सामाजिक समस्याहरु दैनिकखाले आउने गरेका छन् । कतिपय मुद्दा आफुले मिलाउन नमिल्ने भएकाले पालिकामा रहेको न्याय समितिसमक्ष पठाउने गरिन्छ ।

सामान्य खाले विवाद वा समस्या भएको खण्डमा कतिपय व्यवहारिक कुराहरुका कारण दुबै पक्षलाई राखेर वडा कार्यालयमै बोलाएर मिलाउने गरिएको छ । यसमा दुबै पक्षको गुनासाहरु सुनेर दुवै पक्षलाई जीतको महसुस हने गरी समाधान गर्छौ ।

जनताको साथ र सहयोग कस्तो छ ?

सहयोग त गर्छन् । कतिपयले कहिलेकाहिँ असजिलो समेत बनाउँछन् । निर्माण गरिएको योजना वा कार्यक्रम मन नपरेपछि विवाद पनि गर्छन् । मन पर्यो भने सहयोग गर्दै साथ पनि दिन्छन् । एउटा वडाध्यक्षले समाजमा बिभिन्न विचार भएका व्यक्तिहरुको चाहना पुरा गर्न असम्भव पनि भएकाले सहयोग पनि छ, असहयोग पनि हुन्छ ।

कस्तो अवस्थामा जनताका गुनासा आउने गर्छन् ?

समाजमा थुप्रै व्यवहार भएका व्यक्तिहरुको बसोबास हुन्छ । सबै एउटै हुन्छन् भन्ने पनि छैन । कसको दिमागले कत्तिको काम गरेको छ । त्यो पनि थाहा हुँदैन । भेट्न आउने सबैको चित्त बुझ्छ भन्ने पनि छैन । यसरी कतिपयको चित्त बुझाउन पनि सकिँदैन । यस्तो अवस्थामा चित्त नबुझ्दा गाली पनि सुन्नुपर्छ । कोरोना भाइरसका कारण राहत बाड्ने कुरामा पनि गाली खानुपरेको छ ।

पक्की घर भएका व्यक्तिलाई कसरी राहत दिने, जो सारै समस्यामा परेको छ त्यसलाई राहत दिने कुरामा साथ नदिएर हामीलाई पनि राहत चाहियो भनेर विवाद गर्नुहुन्छ । राहत नदिएपछि गाली गर्नुहुन्छ । कतिपय अवस्थामा कार्यालयमा सेवाग्राही आउनुहुन्छ तर प्रक्रियागत कागजात नभएकाले काम रोकिन्छ त्यस्तो अवस्थामा पनि गुनासा सुन्न परेको छ ।

वडा नं ५ मा राम्रा कुरा के–के भए ?

यस वडालाई नमूना वडा बनाउन आवश्यक पर्ने सबै पूर्वाधारहरु छन् । वडाको सेवा क्षेत्रमा दुई वटा माध्यमिकस्तरका सामुदायीक विद्यालय छन् । प्राविधिकरुपमा ती विद्यालयहरु पनि रामै्र अवस्थामा छन् र दुबैलाई अझै नमूना विद्यालय बनाउन सकिन्छ । यहाँ बिजुली, बत्ती, खानेपानी, बाटोघाटो, स्वास्थ्य भवन, स्वास्थ्य क्लिनिक पनि छन् ।

वडाभित्र कस्ता खाले समस्या छन् ?

यो वडामा अव्यवस्थित बसोबास पनि छ । चुनावका बेला घरघरमा लालपूर्जा वितरण गर्ने भनेका थियौं । तर अहिलेसम्म पनि त्यो पुरा हुन सकेको छैन । सुकुम्बासी आयोगसँग सम्झौता नभइपछि पूर्जा वितरण कार्य रोखिएको छ । यसमा मलाई निकै दुःख लागेको छ । यो वडामा करिब ५०० घरधुरी सुकुम्बासीका बस्ती छ ।

खोलाको आउने बाढी बस्तीभित्रै पुग्ने गरेको छ । यो ठुलो समस्याका रुपमा रहेको छ । २०७२ र २०७५ सालमा डुडुवा खोलामा आएको बाढीले शिवराजपुर, लिवाङ्गीटोल, लडियाघाट, खडकनपुरमा करिब २०० घर डुबानमा परेका थिए । यस्ता समस्याको दीर्घकालिन समाधान जरुरी देखिएको छ ।

अन्त्यमा भन्न छुटेका केही कुराहरु छन् ?

नेपालमा संघीय संरचना लागु भएपछि प्रत्येक पाँच वर्षमा नयाँ सरकार आउने व्यवस्था छ । संघीय संरचना लागु भएपछि हामी पहिलो जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आयौं । हाम्रो पहिलो कार्यकाल स्थानीय कानुन, नीति निर्माण र अन्य कुराहरु बुझ्नमै बित्यो । यस क्रममा हामीले अझै धेरै गर्नुपर्नेमा गर्न नसकेको अवस्था छ ।

अब आउने जनप्रतिनिधिले हुन नसकेका कामहरु गर्न निकै सहज हुनेछ । आउने निर्वाचनमा आफ्नो गाउँठाउँको विकासका लागि इमान्दार, कर्मठ, विकासप्रेमी, शालिन र भद्र व्यक्तिलाई जिताउन आवश्यक छ, जिताउनुपर्छ ।