माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल-झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटी बैठक आज (बिहिबार) बस्दैछ।

तयारी नपुगेको र केन्द्रिय सदस्यहरु उपत्यकाबाहिर रहेको भन्दै बुधबार स्थगित बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले बताए । बैठकमा पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनको भनाइ छ ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल–खनाल समूहलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल–खनाल समूहले कुनै निर्णय नदिएपछि मन्त्रिपरिषद् समेत विस्तार भएको छैन ।

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने नेपाल समूहको बैठक अनाधिकृत भएकाले सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले हिजो साँझ विज्ञप्ति जारी गरी आज पार्टीको कुनै आधिकारिक बैठक नभएको स्पष्ट पारेका छन् ।