पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने सरकारको दाबी

काठमाडौं । सरकारले केही समयमै कोरोना भाइरसविरुद्धको पाँच करोड २३ लाख डोज खोप उपलब्ध हुने दाबी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजनामा आगामी माघभित्र पाँच करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ।

उनका अनुसार चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्नेछ । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले जानकारी दिए ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री श्रेष्ठले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख खोप पाउने र कोभ्याक्स लागत सहभागितामा एक करोड ५० लाख खोप खरिद हुने बताएका हुन् ।

कोभ्याक्स लागत सहभागितामा खरिद गरिने खोपमध्ये ४० लाखको भुक्तानी भइसकेको र एक करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले जानकारी गराए ।

चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

आफू मन्त्रालयमा आएपछि मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

बालबालिका लक्षित फाइजरको ६० लाख समेत तीन करोड २३ लाख डोज खरिद प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले दाबी गरे । ‘समग्रमा पाँच करोड २३ लाख डोज खोप प्राप्त हुने अवस्था छ,’ श्रेष्ठले भने ।

आजै उनले तलव भत्ता समेत नलिने घोषणा गरेका थिए ।