जमुनाह नाकामा भारत जानेको लाम

बाँके । कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि नेपालगन्जको जमुनाह नाका भएर भारत जानेहरूको सङ्ख्या फेरि बढ्न थालेको छ । जमुनाह नाकाबाट पछिल्लो समय रोजगारीका लागि भारत जाने नेपालीहरूको सङ्ख्या दैनिक एक हजार बढी हुन थालेको छ ।

भारतमा कोभिडको सङ्क्रमण बढेपछि गत वर्ष फर्किएका नेपालीहरू यस पटक कोभिडको जोखिमका बीचमा पनि भारत जान थालेका हुन् । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार कोभिडको दोस्रो लहरपछि यतिबेला नाकामा फेरि भारत जानेको सङ्ख्या बढेको छ ।

कोभिडको पहिलो लहरमा भारतबाट फर्किनेहरूको तुलनामा दोस्रो लहरका बीचमा भारतबाट फर्किनेको सङ्ख्या न्युन रहेको प्रहरीले जनाएको छ । सल्यान वनगाड–कुपिण्डेका नरबहादुर थापाले भने, ‘गाउँमा बस्दा रोजगारी पाइँदैन, कोरोना सकिएको छैन भन्ने थाहा भए पनि परिवार पाल्न भारत जान बाध्य भएका छौँ ।’

नाकाबाट यसरी भारत जानेमा अधिकांश कर्णाली प्रदेशका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्णबहादुर खत्रीका अनुसार हाल भारतबाट दैनिक करिब तीन सयको सङ्ख्यामा मात्रै नेपालीहरू स्वदेश फर्किरहे पनि भारत जानेको सङ्ख्या भने दैनिक एक हजारभन्दा बढी छ ।

खेतीपातीको काम सकेर परिवारसहित रोजगारीका लागि जानेहरू पनि छन् । सीमा नाकामा भारत जानेहरूमा महिला र बालबालिकासमेत रहेका छन् । कोभिड–१९ को जोखिम बढेपछि अघिल्लो वर्ष चैत १० गतेदेखि नेपाल–भारतस्थित जमुनाह नाकामा अत्यावश्यक बाहेकको आवागमन बन्द छ, तर यसबीचमा धेरै नेपालीहरू रोजगारीका लागि भारत पुगेका छन् ।