‘अचानक ठूलो बाढी, डढेलो र गर्मी’

बीबीसी । वर्षभर जति वर्षा हुने गर्थ्यो, चीनको जोंगजाउ शहरमा त्यति वर्षा एकैदिन भयो । भारी वर्षाले त्यहाँको जनजीवन अस्तव्यस्त भयो । यो त एउटा उदाहरणमात्र हो । विश्वभर नै रेकर्ड तोडिनेगरी मौसमी घटना बढ्न थालेको छ । कतै बाढी, कतै अति गर्मी त कतै जंगलमा भीषण आगलागी–यस्ता घटनाले जनजीवन र धनमालमा क्षति पुर्याइएको छ ।

यस्ता घटना मानिसले नै निम्त्याएको जलवायु परिवर्तनको नतिजा भएको वैज्ञानिकहरू बताउँछन् । अबका दिनमा त मौसम भविष्यवाणी गर्नसमेत थप मुस्किल पर्ने उनीहरूले चेतावनी दिइरहेका छन् । चीनको जोंगजाउ शहरमा यस्तै भयो । त्यहाँ जुलाई १९ को एकैदिन ६२४ मिलिमिटर वर्षा भयो । त्यो परिमाण त्यहाँ वर्षभर हुने वर्षा बराबर हो । पछिल्लो मौसमी विपत्तिका कारण त्यहाँ झण्डै २ लाख मानिस विस्थापित भएका छन् ।

विपत्तिका कारण ३३ जनाको ज्यानसमेत गएको छ । चीनमा यो घटना भएको एक साता पहिले पश्चिम जर्मनीमा पनि बाढीले भयावह अवस्था निम्त्याएको थियो । त्यहाँ १७७ जनाको मृत्यु भएको जर्मन सरकारले आधिकारिक आंकडा सार्वजनिक गर्यो । १०० भन्दा धेरै मानिसहरू बेपत्ता भए । जर्मनीमा चलेको बाढीको असर छिमेकी देश बेल्जियममा पनि पर्यो । त्यहाँ पनि सोही बाढीमा ३७ जनाले ज्यान गुमाए ।

असामान्य र अत्यधिक वर्षा

चीनमा झैँ यूरोपका दुई मुलुकमा अचानक असामान्य अत्यधिक वर्षा भएको बीबीसीमा उल्लेख छ । यी देशहरूले असामान्य र अत्यधिक वर्षाले निम्त्याएको क्षति ब्यहोर्नुपर्यो । मौसमी यी घटनालाई लिएर विश्वभरका नेताहरू निकै चिन्तामा परेका छन्, जो विपत्तिबाट हुने क्षति न्यूनिकरण गर्न चाहन्छन् । जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले भोगेको क्षतिको कारण जलवायु परिवर्तन नै भएको बताएकी छिन् ।

भारतका प्रसिद्ध जलवायु वैज्ञानिक एवम् क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक वीरभद्रन रामनाथन भन्छन्, ‘जर्मनीजस्तो अत्यधिक उन्नत देशमा बाढीका आउँदा धेरै मानिसको ज्यान गएको देख्दा मलाई चिन्ता लागेको छ । यसले विश्वव्यापी जलवायु परिवर्तनसँग जुध्न हाम्रो तयारीको अवस्था कस्तो छ भन्ने जनाउ दिएको छ ।’

आउँदो २० वर्षभित्रै मौसमसँग सम्बन्धित घटनाहरूले खराबभन्दा खराब अवस्था निम्त्याउने रामनाथन बताउँछन् । यस्ता घटना निकै तीव्र र लगातार घटिरहेकाले विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तन नै यसको मुख्य कारण रहेको उनको भनाइ छ ।

मौसम नै जिम्मेवार हो त ?

वैज्ञानिकहरूले दुई दशकयता मौसम सम्बन्धित घटना र मानिसका कारण उत्सर्जित हरितगृह ग्यासबाट भइरहेको विश्वव्यापी तापमान वृद्धि बीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् । खराब मौसमका घटना प्राकृतिक कारणबाटै हुनेमा उनीहरू सहमत छन् । तर, मानवजनित जलवायु परिवर्तनले यस्ता घटनालाई निकै बढी र अधिक तीव्र बनाउन सक्छन् ।

सन् २०२१ मा विश्वभर मौसमको सबै रेकर्ड लगातार तोडिइरहेको छ । पछिल्लो महिनामात्रै अमेरिका र क्यानडाको ठूलो क्षेत्रमा गर्मीसम्बन्धी यसअघिका सबै रेकर्ड तोडिएको थियो । जुन महिना कटाउन मानिसहरूलाई निकै मुस्किल पर्यो । क्यानडामा त गर्मीका कारण जंगलमा लागेको आगोका कारण ब्रिटिस कोलम्बियाका एक पूरै गाउँ जलेर खरानी भयो ।

आगो लागेपछि खण्डहर बनेको क्यानडाको एक गाउँ ।

अमेरिका र क्यानडा दुवै देशमा अहिले पनि हीट वेभ र त्यसपश्चात निम्तिएको हालसम्मकै खराब खडेरी कायम छ । अमेरिकाको क्यालिफोर्नियामा यस वर्षमात्रै आगलागीका चार हजार ९०० भन्दा घटना भइसकेको छ, जो अघिल्लो वर्ष २०२० को तुलनामा ७०० भन्दा धेरै हो । रूसको राजधानी मस्कोमा पनि यस वर्ष १२० वर्षयताकै उच्च तापमान रेकर्ड भयो ।

सर्बिया, जो विश्वकै सबैभन्दा चिसो क्षेत्रमध्ये एक हो–त्यहाँ पनि जुलाईमा भएको गर्मीले यसअघिको सबै रेकर्ड तोड्यो । त्यसभन्दा अघि भारतीय मौसम विभागले मे महिनामा एक प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा राजधानी नयाँ दिल्लीमा उच्च तापमान र वर्षासम्ममा रेकर्डहरू तोडिइरहेको उल्लेख छ । मौसम विशेषज्ञ एवम् इतिहासकार मेक्सिमिलियानो हरेराका अनुसार सन् २०२१ मा २६ देशमा २६० भन्दा धेरै उच्च तापमानका घटना रेकर्ड गरिएको छ ।

चीनको जोंगजाउ शहरमा अचानक भीषण वर्षा भइ बाढी चलेपछि बगेका कारहरू ।

जलवायु परिवर्तन सम्बन्धी अध्ययन गर्ने विश्वकै अग्रणी मध्येको एक रोयल नेदरल्याण्ड मौसम विज्ञान संस्थानका जलवायु शोधकर्ता गीर्ट जान वेइन ओल्डनवर्गले भनेका छन्, ‘मौसमका रेकर्ड तोडिएका यस्ता घटनाका संख्या वास्तवमै अत्याउने खालका छन् । यस्तो हुन्छ भन्ने आंकलन हामीले गरेका थिएनौँ ।’ उनी थप्छन्, ‘यस्तो तीव्र गतिमा मौसमी रेकर्ड प्रतिकूल हिसाबले तोडिन्छ भन्ने हामीलाई लागेकै थिएन ।’ विद्यमान जलवायु अध्ययन मोडल शक्तिशाली नभएकाले खराब मौसमसम्बन्धी घटनाहरू गम्भीरतापूर्वक अनुमान लगाउन नसकिने वैज्ञानिकहरूले बताइरहेका छन्

वैज्ञानिकहरू असफल भएकै हुन् ?

बीबीसीका पर्यावरण विश्लेषक रोजर हेराबिनका अनुसार जलवायु वैज्ञानिकहरूले वर्षौंदेखि दिँदै आएको चेतावनी सही पुष्टि भएको छ । वैज्ञानिकहरूले तापक्रम निकै बढाउने जलवायुका कारण विश्वभर वर्षाको सम्भावना बढाइरहेको छ र अधिक हानिकारक तातो वायु (हीट वेभ) निम्त्याइरहेको छ । सन् २००४ मा वैज्ञानिकहरूले चिड्चिडाहट पैदा गराउने गर्मीबारे अध्ययन गरेका थिए ।

सो गर्मीका कारण यूरोपभर करिब ३० हजार मानिसको ज्यान गएको थियो । सो घटनाबारे अध्ययन गरेपछि वैज्ञानिकहरूले २० औं शताब्दीमा मानवनिर्मित उत्सर्जनले मौसमी विपदका घटनालाई दुई गुणा बढाइदिएको बताएका थिए । मौसम परिवर्तनसम्बन्धी अवस्थाको चरम सीमाबारे भविष्यवाणी गर्न नै कठिन हुन गइरहेको र यसको उदाहरण जर्मनी–बेल्जियमको बाढी र अमेरिकामा चलेको हीटवेभको तीव्रताको भविष्यवाणी गर्न विफल रहनु भएको वैज्ञानिकहरू बताउँछन् ।

बेलायतको मौसम विभागका पूर्व मुख्य वैज्ञानिक प्रोफेसर डेम जुलिया स्लिंगोले केही पहिले मौसमसम्बन्धी जानकारी दिने मोडल विकासमा निकै ठूलो छलाङ लगाउनुपर्ने बताएका थिए । मौसमी चरमताबारे सही भविष्यवाणी गर्न अहिलेको मोडलबाट सम्भव नहुने देखिएको उनले जानकारी दिएका थिए ।

सबै रेकर्ड जलवायु परिवर्तनकै होइन

मौसमसँग जोडिएका खराबीका हरेक चरम घटनालाई जलवायु परिवर्तनसँग जोड्न नसकिने वैज्ञानिकहरू बताउँछन् । जलवायु विज्ञानको एक शाखा, जसलाई एट्रिब्यूशन भनिन्छ, त्यसले असामान्य मौसमी घटनाका कारणलाई निर्धारण गर्छ । उदाहरणका लागि, सन् २०१३ मा बेलायतको मौसम विभागका शोधकर्ताहरूले सन् २००७ र २०१२ मा त्यहाँ फैलिएको गर्मीको एक कारण उत्तर एटलान्टिक महासागरसँग जोडिएका थियो ।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएको रातो पुल । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

त्यहाँको तापमानमा भएको प्राकृतिक बदलावले बेलायतमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो । दक्षिण अमेरिकी शोधकर्ताहरूले पनि अत्यधिक खडेरी हुनुको कारण प्राकृतिक नै रहेको बताएका थिए । सन् २०१९–२०१० मा विश्वकै सबैभन्दा ठूलो सीमसार पेन्टानलको बाक्लो जंगलमा प्राकृतिक रुपमै आगो लागेको निष्कर्ष निकालिएको छ । तर, वैश्विक शोध समूह वर्ल्ड वेदर एट्रिव्यूशनका अनुसार उत्तर अमेरिकी हीटवेभ मामिलामा प्रकृतिलाई नै कारण मान्नुपर्ने सम्भावना छैन ।

अमेरिकामा हीटवेभ चल्दा मापन गरिएको तापमान निकै चरम सीमामा थियो र त्यो ऐतिहासिक रुपमै सीमाभन्दा निकै बढी थियो । अवलोकन र मोडलिङको आधारमा, सो क्षेत्रमा बढेको अधिकतम दैनिक तापमानसँग हीटवेभको घटना मानवीय कारण बिना लगभग असम्भव नै हो, जो स्पष्ट रूपमा जलवायु परिवर्तनको कारण बनेको थियो ।

वर्ल्ड वेदर एट्रिव्यूशनले जर्मनी र बेल्जियमको बाढीबारे पनि विश्लेषण गरेको छ । जुन अध्ययन प्रतिवेदन अगष्टको मध्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । यस विश्लेषणमा भाग लिएका डा.वेइन ओल्डनबर्ग भन्छन्, ‘जलवायु परिवर्तनका कारण भारी वर्षाका घटना धेरै हुन्छन् भन्ने वैज्ञानिकहरूलाई थाहा छ । पछिल्ला केही वर्षमा मौसमी चरमताका अधिकांश मामिला मानवनिर्मित जलवायु परिवर्तनका कारण नै निम्तिएको प्रमाण प्राप्त भएको छ ।’

जलवायु विज्ञानमा नवीनतम विकासबारे खोजमुलक सामग्री प्रकाशन गर्नेगरेको बेलायतस्थित एक वेबसाइट द कार्बन ब्रीफले सन् २००० देखि सन् २०२० सम्म दुई दशक अवधिमा भएका मौसमी चरमताका अधिकांश घटनामा ७० प्रतिशत कारण मानवजनित भएको जानकारी दिइसकेको छ । मानवजनित जलवायु परिवर्तनले खराब मौसमका घटनालाई थप गम्भीर बनाइदिएको प्रमाण वैज्ञानिकहरूलाई मिलिरहेको छ ।

कदम चालिहाल्न आवश्यक

मौसमी चरमताका घटना बढिरहेको पृष्ठभूमिमा विश्वभरका नेताहरू यसै वर्षको नोभेम्बरमा स्कटल्याण्डमा हुने सीओपी–२६ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुँदैछन् । उनीहरूले त्यहाँ कार्बन उत्सर्जन कटौतीबारे आफ्ना योजनाहरू पेश गर्नेछन् । केही वैज्ञानिक र राजनेताहरूले वैश्विक तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा तल अर्थात १.५ डिग्री सेल्सियससम्म सीमित राख्नेजस्ता प्रतिबद्धताबारे सम्मेलनअघि नै पुनर्विचार गनुपर्ने बताएका छन् ।

नेपालको मेलम्ची नदीमा अचानक चलेको हिले बाढीले पुगेको मेलम्ची बजार । यो नदीमा तारान्तर भीषण वर्षा हुने र बाढी चल्ने गरिरहेको छ ।

प्राध्यापक रामनाथन भन्छन्, ‘हामीले जे–जसो गरेपनि सन् २०३० सम्ममा तापमान वृद्धि १.५ प्रतिशतसम्म बढ्नेछ भन्ने मेरो अनुमान छ । यो प्रकृया सन् २०४० सम्म जारी रहनेछ र फेरि वैश्विक स्तरमै जलवायु क्रियाको जवाफमा पृथ्वीमा चिसो बढ्न थाल्नेछ । हामीले मौसमलाई आफू अनुकूल राख्न अहिलेदेखि नै काम थाल्नुपर्छ ।’ संयुक्त राष्ट्रसंघमा जलवायु मामिला हेर्ने कार्यकारी सचिव पेट्रिसिया एस्पिनोसाले पनि हालै यस्तै चेतावनी दिएका थिए ।