नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका विषय

माधव पक्ष सहभागी होला ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दैछ ।

माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप शनिबार स्थगित बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने उनले बताए ।

तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेताहरु लागि परेका छन् ।

तर, शनिबार नै पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहो¥याए भने नेता नेपालले अखिल फोर्सको मार्चपासपछिको सभालाई सम्बोधन गर्दै ओलीलाई फेरि प्रधानमन्त्री बन्ने जालझेल नगर्न चेतावनी दिए ।

सहमतिको प्रयासमा शनिबार बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।