अर्थमन्त्री जनार्दनमाथि लाग्यो यस्तो आरोप, पदबाट बर्खास्त गर्न माग

काठमाडौं । देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई तत्काल पदबाट बर्खास्त गर्न जोडदार रुपमा माग उठेको छ । नवराज विक हत्याकाण्डका दोषीलाई संरक्षण गरेको आरोप लगाउँदै जातीय विभेदविरुद्ध राष्ट्रिय अलायन्सले मन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेको हो ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अलायन्सले अपराधीको पक्षमा बोलेकाले सार्वजनिक माफी माग्नुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई रोजगारी र गाँसबाँसको व्यवस्थासहितको तीन बुँदे मागसमेत राखेको छ ।

नवराज विकसहित ६ जना दलित युवाहरुको निर्मम हत्या हुँदा पनि मन्त्री शर्माले दोषीलाई कारबाही गर्नुको सट्टा जोगाएको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै अलायन्सको संयोजक डा.मित्र परियारले नेताहरु सत्ता, पद र व्यक्तिगत स्वार्थको लागि लिप्त भएको आरोप लगाए ।

उनले भने, ‘नेताहरुको व्यक्तिगत स्वार्थले गर्दा आज निर्दोष नवराज लगायत ६ जना युवाका परिवारले न्याय पाउन सकेनन् ।’ डा.परियारले सर्वोच्च अदालतले न्याय दिनेमा आशावादी भएको बताए । अन्तरजातिय विवाहको आरोपमा नदीमा फालेको भन्दै राज्यले अपराधी जोगाएको आरोपसमेत लगाए ।

उनले भने, ‘जसलाई समाजले अपराधीलाई संरक्षण दिएको आरोप लगाइरहेको छ उसैलाई अर्थजस्तो जिम्मेवार मन्त्रीमा नियुक्त गर्दा दलितको अपमान गरेको महसुस भएको छ ।’ अन्तर्राष्ट्रिय नजरपनि यस घट्नामा परेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अर्का संयोजक दलमर्दन कामीले जातिय विभेदविरुद्ध लाग्नुपर्ने जिम्मेवार व्यक्ति अर्थमन्त्री जनादर्न शर्माले हत्यारालाई संरक्षण गरेको बताए । उनले शर्माले जिम्मेवार पदमा बस्ने नैतिक हैसियत नराख्ने जिकिर गरे । उनले भने, ‘तुरुन्तै बर्खास्त गरी कानुनी शासनको प्रत्याभुति गराउनुपर्छ ।’