उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन् । उनी शनिबार सर्वसम्मत जसपा संसदीय दलको नेता चयन भएका हुन् । जसपाका नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएको जानकारी दिए ।

यससँगै शेरबहादुर देउवाको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने पक्का भएको छ । जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि पनि सजिलो भएको छ । जसपाले दलको नेता चयन गरेसँगै उसको भागमा परेका मन्त्रालयमा पठाउने अनुहारको पनि टुंगो गर्नेछ ।

पूर्वमन्त्री मोहम्मद इस्तियाक राईका अनुसार संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र सांसद महेन्द्र यादवको समर्थनमा यादवलाई दलको नेतामा चयन गरिएको जानकारी दिए । महन्थ ठाकुर पक्ष पार्टीविहीन भएको अवस्थामा दलको नेता चयन भएसँगै यादव झन् शक्तिशाली बनेका छन् ।

जसपा र माओवादीले सूची पठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नेछन् । सम्भवतः अबको केही दिनमा मन्त्रिमण्डल विस्तार हुनेछ । जसपालाई देउवा सरकारमा कम्तीमा चार मन्त्रालय दिने तयारी गरिएको छ । तर जसपाले ६ वटा मन्त्रालय चाहिने अडान राखेको छ ।