कृषि र औद्योगिक पर्यटनको ‘ट्रान्जिट’ जानकी

‘जानकीको विकास कृषि र औद्योगिक पर्यटनबाट मात्रै सम्भव छ । कृषिको आधुनिकीकरण र औद्योगीकरणतर्फ ध्यान दिनुपर्छ ।’

व्यापार, मनोरन्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनको परिभाषाअनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरन्जन, व्यापार र त्यस ठाउँमा आयस्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ । सामान्यतया पर्यटन भन्नाले मनोरम दृश्य, डाँडाकाँडा, वन्यजन्तु, तालतलैया अवलोकन गरेर रमाउने भनेर बुझिन्छ । तर, पछिल्लो समय पर्यटन यतिमा मात्रै सीमित छैन । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायत क्षेत्रसँग पनि पर्यटन जोडिएको छ । त्यस्तै मध्येको एक हो, कृषि र औद्योगिक पर्यटन ।

बाँकेको जानकी गाउँपालिका हरेक हिसाबले पछाडि पारिएको स्थानीय तह हो । शिक्षा, स्वास्थ्य, यातायात, सडक लगायतका पूर्वाधारमा पछाडि पारिएको स्थानीय तहमा गणना हुन्छ, जानकी गाउँपालिका । तर, जति समस्या यो गाउँपालिकामा छ त्यतिनै सम्भावना पनि । विशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केन्द्रबिन्दु हो, बाँके जिल्ला । यहाँ प्रमुख व्यापारिक, औद्योगिक एवम् कृषियोग्य स्थलका रुपमा बाँकेलाई लिइन्छ । बाँकेका स्थानीय तहमध्ये एक कृषि, औद्योगिक तथा व्यापारिक क्षेत्रका रुपमा परिचित गाउँपालिका हो, जानकी । यो गाउँपालिका नेपालगन्ज विमानस्थलको सीमानादेखि खजुरा रोड हुँदै साइगाउँ भारतको सीमासम्म जोडिएको छ । यस गाउँपालिकामा जम्मा वडा ६ वटा छन् ।

यस गाउँपालिकाको कूल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर छ भने कूल जनसंख्या ३७ हजार ८३९ छ । पुरुष १९ हजार ३३३ र महिला १८ हजार ४०६ छ । साविकका गनापुर, खजुराखुर्द, बेलहरी, इन्द्रपुर, बेलभार र साइगाउँ मिलेर हालको जानकी गाउँपालिका बनेको हो । पहिले निकै पछाडि परेका साविकका गाविसहरु स्थानीय तहमा परिणत भएसँगै मुहार फेर्न थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यहाँ विकास निर्माणका कामहरु तीव्ररुपमा अगाडि बढाइएका छन् । पुल नभएका ठाउँमा पुलहरु विस्तार गर्ने काम भइरहेको छ भने शिक्षा, स्वास्थ्य, यातायात, सडकका क्षेत्रमा पनि बजेट विनियोजन गरी कामहरु भइरहेका छन् ।

यस गाउँपालिकालाई कृषि र औद्योगिक पर्यटनका हिसाबले अगाडि बढाउन सकिने सम्भावना देखिन्छ । यस गाउँपालिकामा मात्रै सानाठूला गरी १०० भन्दा बढी उद्योग रहेका छन् । छड, सिमेन्ट, प्लाष्टिक लगायत राष्ट्रियस्तरका कम्पनी यहीँ छन् । उद्योग स्थापनाका लागि उपयुक्त क्षेत्र भएकाले पनि बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरुले आफ्नो शाखा खोल्ने क्रम बढेको छ । पश्चिम नेपालमा पूर्वाधार विकासको प्रशस्त सम्भावना छ । त्यसको ‘ट्रान्जिट’ नेपालगन्ज हो । सीमा नाका नजिक हुनु र भारतबाट कच्चापदार्थ भित्याउन सहज हुने भएका कारण पनि जानकी गाउँपालिका क्षेत्रमा उद्योग खोल्ने क्रम बढेको हो ।

राज्यको पुनर्संरचनापछि बनेको सुदूरपश्चिम र कर्णाली प्रदेशको हिस्सा ओगट्न कुनै पनि उद्योगले बाँकेलाई ‘ट्रान्जिट’ बनाउनैपर्ने हुन्छ । बाँके लुम्बिनी प्रदेशको पुछारमा भए पनि यी दुई प्रदेशमा मालसामान पठाउन सहज हुने भएकाले पनि लगानीकर्ता यहाँ लगानी गर्न उत्सुक छन् । यी दुई प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्ररूपमा भइरहँदा निर्माणका सामग्रीको माग बढ्दै गएको छ । राज्यको पूर्वी क्षेत्रमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी खर्च नै धेरै हुन्छ । त्यसैले यहीँ उद्योग खोलेर उत्पादन गर्दा दीर्घकालीन फाइदा हुने भएकाले पनि जानकी गाउँपालिका रोज्ने गरेको पाइन्छ ।

यस गाउँपालिकामा सहजरूपमा जग्गा पाइने भएकाले पनि यहाँ लगानीकर्ताहरु आकर्षित भएका हुन् । अन्य ठाउँभन्दा सस्तो र पर्याप्त जग्गा उपलब्ध हुने भएकाले यहाँ लगानीकर्ताको आकर्षण बढेको छ । यद्यपि यहाँ उद्योग स्थापना हुने क्रम बढ्दै गएपछि जग्गाको मूल्य पनि बढ्दै गएको छ । साथै बेरोजगार युवाले रोजगारी पाइरहेका छन् । यहाँ स्थापित उद्योगमा ४० प्रतिशत स्थानीयले रोजगारी पाएका छन् । उद्योगहरुले पनि स्थानीयलाई प्राथमिकता दिइरहेको पाइन्छ । जानकीलाई बाँकेकै ‘कृषि र उद्योगिक पर्यटन’को हवका रुपमा स्थापित गर्न सकिन्छ ।

आधुनिक औद्योगिक क्रान्तिको जग बसाउने बाँकेकै समृद्ध भूमि जानकी नै हो । यसका लागि स्थानीय सरकारको दायित्व, बनाउनुपर्ने नीति, जनताको अपेक्षा, कृषि तथा औद्योगिक वातावरण निर्माणका लागि सरकारको भूमिका लगायतका विषयमा ध्यान दिनुपर्छ । ठूला–ठूला उद्योगहरु सञ्चालित जानकी गाउँपालिकाको भूमिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै औद्योगिक विकासमा महत्वपूर्ण रहँदै आएको छ । यस क्षेत्रमा ठूला उद्योगहरुको विस्तार तीब्ररुपमा भइरहेको छ । यस क्षेत्रमा स्रोतसाधन अथाह छ । ती स्रोतसाधनलाई कसरी बढीभन्दा बढी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा पनि स्थानीय सरकारले योजना बनाइरहेको छ ।

उद्योग र पर्यटनको विकास भयो भने बढीभन्दा बढी रोजगारी सिर्जना हुन्छ । स्थानीय सरकारको ध्यान पनि आर्थिक समृद्धितर्फ रहेको छ । ‘जानकीमा औद्योगिक पर्यटनका अपार सम्भावना छन् । स्रोत साधनको भण्डार छ । ती स्रोत साधनलाई प्रयोगमा ल्याउन हामीले विविध योजना बनाइरहेका छौं । हामीले मुख्यगरी कृषि र औद्योगिक पर्यटनलाई फोकस गरेका छौं,’ जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव भन्छन्, ‘जानकीको विकास कृषि र औद्योगिक पर्यटनबाट मात्रै सम्भव छ । कृषिको आधुनिकीकरण र औद्योगीकरणतर्फ ध्यान दिनुपर्छ ।’ रोजगारमूलक र निर्यातमूलक उद्योग स्थापना गर्नेलाई स्थानीय, प्रदेश र संघीय सरकारले विशेष सुविधा दिनुपर्ने उनको भनाई छ ।

बाँकेकै सबैभन्दा उर्वर भूमि जानकी गाउँपालिका क्षेत्रमै पर्छ । कृषिमा पनि लगानी बढाउनुपर्ने देखिन्छ । कुन जमिनमा कस्तो खेती हुन्छ भनेर प्राविधिकहरूले छनोट गरेर सिफारिस गर्नुपर्छ र कृषकले त्यसैअनुसारको बाली लगाउँदा बढी प्रतिफल प्राप्त हुन्छ । अध्यक्ष यादवले भने, ‘विगतमा जस्तो अब राजनीतिक समस्या छैन । मजदुरहरुको समस्या छैन । यस क्षेत्रले विगतमा १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको थियो । अहिले लोडसेडिङ छैन । जानकी गाउँपालिकामा औद्योगिक पर्यटनको सम्भावना धेरै छ । हामीले त्यसतर्फ ध्यान केन्द्रीत गरेका छौं ।’ स्थानीय सरकारले तत्काल र दीर्घकालमा गर्ने काम छुट्ट्याएर अघि बढेको छ ।

गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले भनिन्, ‘हरेक दिन सयौं युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । व्यापारघाटा हरेक दिन बढ्दै गएको छ । नयाँ उद्योग नखुलेसम्म रोजगारी सिर्जना हुन सक्दैन । व्यापारघाटा कम हुन सक्दैन । पालिकाभित्रका निर्यातमूलक र रोजगारमूलक उद्योगहरु सञ्चालनमा स्थानीय सरकारले भरपुर सहयोग गरिरहेको छ ।’ उपाध्यक्ष धितालका अनुसार कृषि र औद्योगिक पर्यटन विकासमा मात्रै ध्यान दिइयो भने लाखौंले रोजगारी पाउनेछन् । ‘स्थानीय सरकारसँग जनताका चाहना धेरै छन् । सीमित स्रोतसाधनबाट जनताका बढीभन्दा बढी चाहना पूरा गरिरहेका छौं,’ जानकी गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले भने ।

उनले उद्योगधन्दा नखुलेसम्म रोजगारी सिर्जना हुन नसक्ने बताए । ‘संघीयतासँगै उद्योगधन्दा खुल्ने वातावरण बनेको छ । बढीभन्दा बढी उद्योग स्थापना भइरहेका छन् । यसले स्वदेशमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भने, ‘कृषि र औद्योगिक पर्यटनको विकासमा मात्रै ध्यान दिइयो भने घर आँगनमै लाखौंले रोजगारी पाउनेछन् । युवा विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझै छ । आयात बढ्दै गएको छ । निर्यात हरेक दिन खुम्चिरहेको छ । व्यापारघाटाको उचाइ बढिरहेको छ ।’ यस्तो अवस्थामा कृषि र औद्योगिक पर्यटनको विकास महत्वपूर्ण हुने उनको भनाई छ । यहाँ लगानीमैत्री वातावरण छ । यसलाई अझै बढावा दिनुपर्छ ।

यसले लगानीकर्ता अझ प्रोत्साहित हुन्छन् । ठूला औद्योगिक कम्पनीहरुको अवलोकन गर्नका लागि पर्यटकहरु आउँछन् । विभिन्न कलेजहरुले आफ्ना विद्यार्थीहरुलाई सहजैरुपमा अध्ययन अनुसन्धान र अवलोकन गराउन सक्छन् । जति लगानी गाउँपालिकामा भित्रिन्छ, त्यति नै गाउँपालिका समृद्ध हुँदै जान्छ । ती उद्योगहरुबाट गाउँपालिकाले नियमानुसार कर उठाई आफ्नो आन्तरिक आम्दानीलाई पनि बढाइरहेको हुन्छ । त्यसैले जानकी गाउँपालिकालाई उद्योगमैत्री बनाउँदै लैजानुपर्छ । साथै औद्योगिक पर्यटनको राम्रो सम्भावना छ । यसलाई बढावा दिनका लागि गाउँपालिकाको मात्रै होइन, स्थानीयको पनि उत्तिकै दायित्व छ ।