बर्दियामा स्थानीयको आक्रोस, ‘निकुञ्जको बाघ पाल्न सक्ने क्षमता कति हो ?’

बर्दिया । ‘निकुञ्जले बाघ संरक्षण भन्या छ, झ्याली पिट्या छ । स्थानीयले अकालमै ज्यान गुमाइरहेका छन्,’ एक स्थानीयले आक्रोस पोख्दै भने, ‘कि त बाघलाई जंगलमै व्यवस्थित गरेर राख्न सक्नुपर्यो कि निकुञ्जको बाघ पाल्न सक्ने क्षमता कति हो त्यसतर्फ पनि ध्यान दिनुपर्यो ।’ बाघ दिनहुँजसो गाउँ पस्ने र आक्रमणबाट छिमेकीलाई गुमाएका उनले त्यसरी आक्रोस पोखेका थिए ।

मध्यवर्ती क्षेत्रमा एक वर्षमा १३ जना बाघको शिकार भएका छन् । यता निकुञ्ज र डिभिजन वन कार्यालय भने स्थानीयको लापरबाहीका कारणले नै मध्यवर्ती क्षेत्रका बासिन्दा बाघको शिकार भएको बताउँदै आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रविन कडरिया बाघको आक्रमणका घटना सबै जंगलभित्र भएको बताउँछन् । ‘कुनै पनि घटना गाउँमा भएको छैन । सबै जंगलभित्र भएका छन्‚’ उनले भने, ‘हामीले जंगलभित्र प्रवेश नगर्न र सावधानी अपनाउन आग्रह गर्दै आएका छौं । स्थानीयहरु अटेर गर्छन र बदलामा बाघको आहारा बन्छन् ।’

प्रमुख कडरियाका अनुसार विषेशगरी बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्ग क्षेत्रमा बाघ आक्रमणका घटना भएका छन् । त्यो क्षेत्र बाघको ओहोरदोहोर गर्ने क्षेत्र भएको उनले बताए । अर्कोतर्फ कोरोना महामारीपछि स्थानीय गाउँ फर्किएको र आम्दानीका अन्य श्रोत नहुँदा धेरै समय जंगल प्रवेश गर्ने भएकाले पनि आक्रमणका घटना बढेको कडरियाको भनाइ छ ।

निकुञ्ज अधिकारीले त्यसो भने पनि स्थानीयको दुखेसो भने बेग्लै छ । मध्यवर्ती क्षेत्रमा बसोबास रहेकाले जंगल नगई चुलो नै नबल्ने स्थानीयहरु बताउँछन् । ‘निकुञ्जले जंगल नपस्नु भनेर सूचना दिन्छ, जंगल नजिक बसेका छौँ,’ बर्दिया ठाकुरबाबाकी एक स्थानीयले दुख पोख्दै भनिन्, ‘आफ्नो जीविका जंगलमै निर्भर छ, जंगलबाट दाउरा नल्याए साँझ चुलो बल्दैन, जंगल जानु परिहाल्छ, कतै बाघसँग जम्का भेट हुने हो कि भन्ने चिन्ता लाग्छ ।’

१३ महिनामा १३ जनाको मृत्यु

साउन ३ गते मात्रै ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको बाघको आक्रमणबाट ज्यान गयो । उनी भैंसी चराउन सामुदायिक वन गएका थिए । यस्तै, असार २१ गते मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । जेठ १७ गते मधुवनकी ६६ वर्षीय महिला नन्दकला थापाले बाघको आक्रमणबाट मृत्यु भएको थियो । उनलाई सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको थियो ।

चैत २२ गते बाघको आक्रमणबाट हात्ती चराउन निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका माहुते ३१ वर्षीय पुलिसराम थारुको बाघले आक्रमणबाट मृत्यु भएको थियो । यस्तै, चैत ३ गते निउरो टिप्न निकुञ्जभित्र गएकी ठाकुरबाबा–७ मोहनपुरकी ५५ वर्षीया डल्ली रावतको पनि बाघकै आक्रमणबाट ज्यान गयो । गत फागुन १७ गते बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट ६५ वर्षीय लालबहादुर थारूको मृत्यु भएको थियो ।

निकुञ्जमा भैँसी चराउन गएका राजापुर नगरपालिका–१० का ६५ वर्षीय थारूलाई बाघले आक्रमण गरेको थियो । फागुन २६ गते वनमा घाँस काट्न गएकी कोठियोघाट–३ की २७ वर्षीय रीना सुनारलाई बाघले आक्रमण गरी ज्यान लियो । यस्तै, पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार कैलालीकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भयो । बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

द्वन्द्व नियन्त्रणको प्रयास मात्रै

आर्थिक वर्ष २०७७/०७८ मा १२ जना र यस आर्थिक वर्षमा एकजना गरी १३ महिनामा १३ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । यस तथ्यांकले बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दोब्बरले बढेको देखिन्छ ।

यी घटनाहरुमध्ये निकुञ्ज क्षेत्रभित्र चार र बाँकी सामुदायिक वनभित्र भएकको पाइएको छ । बाघले गाउँ क्षेत्रमा आएर मानवलाई आक्रमण गरेको छैन । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले घटना भइरहेको क्षेत्रमा अनुगमन गरेर आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइरहेको छ ।

पछिल्लो दुई वर्षमा ६ वटा बाघलाई नियन्त्रणमा लिइएको छ । यस्तै, घटना भएका क्षेत्रका स्थानीयलाई बाघको आनीबानीसम्बन्धी सचेत गराउने पनि निकुञ्जले गरिरहेको छ । यस्तै, आहारा प्रजातिका जनावरलाई आवश्यक घाँसे मैदान, पानीका स्रोतको व्यवस्थापन गर्ने काममा पनि जोड दिएको निकुञ्जले बताएको छ ।

संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जलाई विशेष गरी बाघको बासस्थान मानिन्छ । बाघ संरक्षणमा यहाँका संरक्षणकर्मीहरूले कयौँ प्रयास थालेका छन् । यस क्षेत्रमा बाघको संख्या बढाउन बर्दियाका युवाको ठूलो योगदान रहेको छ । बाघको आक्रमणमा अंगभंग भएका स्थानीय पनि बाघ संरक्षणमा लागेका छन् । जसको फलस्वरुप अहिले निकुञ्जले संख्या बढेको छ । तर, आक्रमणबाट स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने चुनौती थपिएको छ । स्थानीयले बाघले आफूहरुलाई क्षति पुर्याएको बहानामा बाघ लगायतका वन्यजन्तुसँग बदला लिने भावनाले चोरी सिकारी गर्ने क्रम पनि बढ्दो छ ।

बर्दियामा अहिले ८७ वटा वयस्क पाटेबाघ छन् । निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरूले तीन/चार वर्षयता दिन–दिनै बाघ देख्न पाइरहेका छन् । बाघको संख्या त बढेको छ, तर यसको दिगो संरक्षणमा चुनौती थपिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन्, ‘मानवसँगको बढ्दो द्वन्द्व, साँघुरिएको वासस्थान र आहारा अभाव लगायतका कारणले पछिल्लो समय बाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।’ जंगली हात्तीजस्तै अब पाटेबाघबाट पनि गाउँमा त्रास फैलिन थालेको छ ।

संरक्षण अभियानमा समुदायको सक्रियता बढेका कारण निकुञ्जमा जंगली जनावरको संख्यामा पनि वृद्धि हुँदैछ । संरक्षण अभियानमा स्थानीय सकारात्मक हुँदाहुँदै पनि जंगली जनावरले वर्षभर खाने अन्नपात एकै दिनमा सखाप पारिदिन थालेपछि स्थानीयमा प्रतिशोधको भावना उत्पन्न हुने गरेको जानकारहरु बताउँछन् । जसका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउँछन् । यस्तै, राजमार्गमा सवारी साधनको तीव्र गतिका कारण समेत जंगली जनावरको ज्यान जाने गरेको छ ।