‘शुद्ध, सफा र स्वस्थ्य मासु’ उपभोक्ता अधिकार

प्रोटिनका श्रोत वनस्पतिजन्य पनि हुन्छन् । तर पशुजन्य श्रोतबाट प्राप्त हुने प्रोटिन भने उत्कृष्ट मानिन्छ ।

पृष्ठभूमि
मानिसको भोजनबाट चय अपचय भई मानिसको शरीरका लागि दैनिक जीवनचर्या सुचारु गर्न मानिसले दैनिक गर्ने कृया प्रकृयाबाट मानिसको शरीरमा क्षय हुने शक्ति, तन्तुको पुनः निर्माणका लागि, कार्वोहाइड्रेट, बोसो, प्रोटिन अनि खनिजको निरन्तर आपूर्ति हुन आवश्यक हुन्छ । यी सबै पोषक तत्वको श्रोत वनस्पतिजन्य तथा पशुजन्य मानिन्छ । मानिसले गर्ने दैनिक शारीरिक तथा मानसिक कृया प्रतिक्रियाबाट मानिसको शरीरबाट तन्तुहरु नष्ट हुने गर्छन् । जसको बनोटमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ ।

भनिन्छ, प्रोटिनका श्रोत वनस्पतिजन्य पनि हुन्छन् । तर पशुजन्य श्रोतबाट प्राप्त हुने प्रोटिन भने उत्कृष्ट मानिन्छ । जुन हामी पशुपंक्षीबाट प्राप्त गर्दछौं । मासु भन्नाले हाम्रा धर्म संस्कृति, रितिरिवाज अनुसार उपभोग गर्न हुने पशुपंक्षीहरु बध गरी तीनको शरीरबाट पाउने उपभोग्य तन्तुलाई बुझिन्छ । तर आज हाम्रा परिबेशमा जसरी पशुपंक्षीहरु बध गरिन्छ, अनि जसरी मासुको विक्री वितरण गरिन्छ, त्यस्ता श्रोतबाट प्राप्त मासु हामीले सेवन गर्दा के हामी साँच्चिकै मासुबाट प्राप्त हुने भनिएको उत्कृष्ट प्रोटिन प्राप्त गर्न सक्छौं ?

बधस्थल तथा मासु विक्री गरिने पसल कस्ता छन् ?

राँगा प्रजाती बध गरिने स्थल प्रायःजसो नदि किनारका बगर हुनभन्दा फरक पर्दैन । त्यसको लागि काठमाडौकै विष्णुमती किनार हेरे पुग्छ । यसरी यस्ता ठाउँमा बध गरिएको राँगाहरुको मासु धोई पखाली गर्न आवश्यक पानी पनि त्यही विष्णुमती खोलाको प्रयोग गरिन्छ भन्न के आइतवार कुर्ने ? आजको हाम्रो परिपेक्षमा पशुबधशाला ऐन २०५५, नियमावली २०५७, तथा निर्देशिका २०६४ जारी गरिएको छ ।

जसअनुसार प्रत्येक किसिमका पशुपंक्षी बध गर्न अघि स्वस्थ्य अस्वस्थ्य भए नभएको जाँच गर्नुपर्ने व्यवस्था छ । तर यसरी वगर वगरमा गरिने बध प्रत्येक घरटोलमा गरिने बधको निरिक्षण तथा अनुगमन गर्न न त प्रयाप्त जनशक्ति नै छ न त भौतिक श्रोत साधन नै । यसरी व्यवसायी आफैले आफुखुशी बध गरी भाग लगाइ तयार पारेको मासु नजिकै बगेको खोलाको पानी प्रयोग गरी सफा गरेको मासु कति स्वच्छ, सफा र जनस्वास्थ्यको लागि स्वस्थ्य होला यक्ष प्रश्न त यही छ ।

अझ हाम्रा परम्परागत मासु बिक्री गर्ने चलन भुईंमै खसीबोका बध गर्ने गुन्द्री तथा प्लास्टिक ओछ्याएर पनि मासु पसल थाप्ने, रातो लुगाले मासु छोपेर राख्ने अनि छिनछिनमा पानी छर्कने चलन त परम्परागत नै छन् । यसले त्यो मासुलाई कति स्वच्छ सफा स्वस्थ्य राख्न मद्दत गर्ला ? मासु विज्ञानको सिद्धान्तले भनेको छ, पंक्षी प्रजाती तथा बंगुर प्रजाती बाहेक बध गरेपछि त्यसको छाला छुट्याउनुपर्छ ।

टाउको, खुट्टाको तल्लो भाग अनि आन्द्राभुँडी भित्रियाशं, मुटु, कलेजो, फोक्सो, फियो, मृगौला पनि । यसपछि बाँकी रहेका बध गरिएको पशुका भाग वर्गिकरण गरी मात्र तयार हुने मासुलाई मासु भनिन्छ । यीबाहेक माथि उल्लेखित अंश विक्रेताले विक्री गर्न चाहे छुट्टै राखेर विक्री गर्नुपर्ने हुन्छ । अझ हाम्रो आप्mनो प्रचलनमा बध गर्न कानुनीरुपमा अनुमति दिइएका पशु तथा तीनका लीग अनुसार बध गरी तयार पारिएको मासु के साँच्चै उपभोक्ताले पाउँछन् होला ?

यो समस्या चौपाया प्रजातिमा बढी छ । मानिन्छ खसी÷राँगाका मासुको मुल्य बढी नै हुन्छ । खसी भनि बेचिने गरेको मासुमा बोका÷बुढी बाख्री वा भेडाभडीको मासु नमिसाइएको भन्ने एकीन पो कसरी गर्ने ? राँगाको मासु भनि विक्री गर्न राखिएको मासुमा दूध दिँदादिँदा थाकेको बुढी भैंसी पर्दैन पो कसरी भन्ने ?

यसको समाधान के ?

प्रत्येक शहरी क्षेत्र, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका क्षेत्रमा हाल बध गरिने पशुको किसिम, मासुको खपत अनुसारका क्षमताका व्यवस्थित बधशाला, बधस्थल निर्धारण गरी स्तरोन्नत्ति वा नयाँ निर्माणको प्रकृया, नीजि व्यवसायी सहकारी व्यवसायीको समितिको अग्रसरतामा निर्माण अनि सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ ।

यसका पूर्वाधार के हुन सक्छन् ?

१) मासुजनीत रोग, मासु उत्पादन, मासु विक्री वितरणबारे सूचना प्रवाह गर्ने ।
२) मासु उत्पादन वितरण, पशु बधशाला सञ्चालन र मासु परिक्षण सम्बन्धी भएका कानुनी व्यवस्थाबारे सरोकारवालालाई सुसूचित गर्ने ।
३) नगरपालिका क्षेत्रमा मासु विक्री गर्न चाहने व्यवसायीले सम्बन्धित नगरपालिकामा पूर्व स्वीकृति लिई मासु पसल सञ्चालनको मापदण्ड पुरा गरी मासु पसल सञ्चालन गर्ने ।
४) पशु बधशालाबाट प्रमाणित एवं वर्गीकृत मासु, मासु पसलसम्म रेफ्रिजरेटर भ्यानमा राखी पुर्याउने जिम्मा सम्बन्धित बधशाला सञ्चालकको हुने व्यवस्था गर्ने ।
५) मासु पसलमा नियमित विक्री पछि पनि बाँकी रहन गएको मासु डिपफ्रिजमा संरक्षण गरी राख्ने व्यवस्था हुनुपर्ने ।
६) प्रत्यक मासु पसलमा विक्री गर्न राखिएको मासुमा मासुको श्रोत, गुणस्तर अंकित चिन्ह प्रष्ट देखिने हुनुपर्ने व्यवस्था गर्ने ।
७) बधस्थलमा बध गर्न ल्याइने पशुको बध पूर्वको स्वास्थ्य परीक्षण तथा बधपश्चात परीक्षणपछि मात्र त्यस्ता पशुबाट प्राप्त हुने मासु स्वस्थ्य अस्वस्थ्य अवस्था अनुसार वर्गीकृत चिन्ह अंकित गरी मात्र मासु पसलसम्म पुर्याउने व्यवस्था गरिनुपर्नेछ ।

सैद्धान्तिकरुपमा माथि उल्लेखित तथ्य सहज देखिए पनि हाम्रा आफ्ना सामाजिक परिबेशमा सहज छैन । तथापि हामी विश्व व्यापार संगठनको सदस्य तथा विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्र भएकोले अन्य विश्वका सदस्य राष्ट्रले गरेको प्रतिवद्धता अनुसार हामी पन्छिन सक्दैनौं पनि । यसकारण गर्न के पो सकिन्छ । वर्तमानको समग्र मासु सम्बन्धि हालको ज्ञानको मूल्याङ्कन पूर्वाधारका स्थिति, उपभोक्ताको सचेतनाको स्थिति हेरी सरोकार पक्षलाई यथोचित अभिमूखिकरणका कार्यक्रम सञ्चालन जरुरी छ ।

यसबाहेक सम्बन्ध पक्षलाई सहभागीतामूलक प्रशिक्षण दिन पनि जरुरी छ । बधशाला निर्माण मासु पसल सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि स्थानीय निकाय, सरकारी वा गैरसरकारी क्षेत्रबाट आर्थिक अनुदान, सामग्री अनुदान, सो सम्भव नभए अनुदान वा सहुलियतको रुपमा त्रृmणको व्यवस्था गर्न सकिन्छ । यसबारे सोच्ने बेला आएको छ । न्यूनतम रुपमा यतिसम्म गर्न सकिएमा उपभोक्ताले हालको अवस्थाभन्दा केही स्वच्छ, सफा र स्वस्थ्य मासु पाउने छन् । किनकी सुधारका सम्भावना अनन्त हुने गर्छ ।